काठमाडौँ — दैलेखको जलजले क्षेत्रले आज नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको उज्यालो छरेको छ । मिथेन ग्यासको विशाल भण्डारको खोजले यो सानो गाउँलाई देशको आत्मनिर्भरताको सपनाको प्रतीक बनाएको छ ।
दैलेखको जलजले क्षेत्रले आज नेपालको ऊर्जा क्षेत्रमा नयाँ सम्भावनाको उज्यालो छरेको छ । मिथेन ग्यासको विशाल भण्डारको खोजले यो सानो गाउँलाई देशको आत्मनिर्भरताको सपनाको प्रतीक बनाएको छ । यो खोज केवल प्राकृतिक स्रोतको पहिचान मात्र होइन, यो हरेक नेपालीको मनमा बलिरहेको आशाको दियो हो, जसले ऊर्जा सुरक्षा र आर्थिक समृद्धिको बाटो उजागर गरेको छ ।
वि.सं. २०७८ वैशाख २८ गतेदेखि चीनको जिओलोजिकल सर्भे कम्पनीले जलजलेमा सुरु गरेको ड्रिलिङले ४ हजार १३ मिटर गहिराइमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको पत्ता लगाएको छ । यो भनेको चार सम्भावित कुवामध्ये पहिलो कुवाको नतिजा हो । बाँकी तीन कुवाबाट झन्डै २ अर्ब घनमिटर थप ग्यास निकालिने अनुमान छ । यदि यो आँकडा यथार्थमा परिणत भयो भने नेपालले आगामी दशकभरि ग्यासमा आत्मनिर्भर बन्ने अवसर पाउनेछ । यति ठूलो सफलता देशको ऊर्जा सुरक्षामा मात्र सीमित रहने विषय होइन, यो राष्ट्रको आर्थिक रणनीतिमा आमूल परिवर्तन ल्याउने सम्भावना भएको विषय पनि हो ।
तर यो उज्यालो हेर्दाहेर्दै प्रश्नहरू पनि उठिरहेका छन् । चीनको पूर्ण अनुदानमा सञ्चालित यो परियोजनाको प्रारम्भिक लागत २१ करोड रुपैयाँ थियो । कोभिड–१९ र प्राविधिक चुनौतीले लागत र समय बढाए पनि अहिले यो परियोजना निर्णायक चरणमा पुगेको छ । सन् २०२५ को डिसेम्बरसम्म अन्तिम प्रतिवेदन आउने र त्यसपछि व्यावसायिक उत्पादनको परीक्षण सुरु हुने भनिएको छ । प्रश्न भने यहाँ उठ्छ के यस्तो परियोजना पारदर्शी र दीर्घकालीन राष्ट्रिय हितमा सञ्चालित भइरहेको छ त ? विदेशी अनुदानको आडमा भित्रिने प्राविधिक तथा रणनीतिक हस्तक्षेपले भविष्यमा गम्भीर असर पार्न सक्ने सम्भावना पनि नकार्न सकिँदैन ।
यसबीचमा तथ्यांकमा देखिएको असामञ्जसता झनै चिन्ताजनक छ । खानी तथा भूगर्भ विभाग र सार्वजनिक सञ्चारमाध्यममा आएका तथ्यांक फरकफरक छन् । तथ्यात्मक विसंगतिले जनविश्वासमा चोट पुर्याउँछ । पारदर्शिता भनेको जनतालाई सही जानकारी दिने पहिलो सर्त हो र त्यहाँ सरकार चुकेको देखिन्छ भने भविष्यका सबै आशा अधुरो सपना बन्ने खतरा रहन्छ ।
मिथेन ग्यासलाई विश्वभर स्वच्छ इन्धनका रूपमा स्वीकार गरिए पनि यो पनि एक किसिमको हरितगृह ग्यास हो । यसको उत्खनन, प्रशोधन र प्रयोगमा पर्यावरणीय सन्तुलन कायम राख्न अत्यन्तै सावधानी आवश्यक छ । नेपालले ग्यास निकालेर सस्तो ऊर्जा मात्र पाउने हो भने त्यो अधुरो विजय हुनेछ । यसले वातावरणीय क्षति कम गर्ने नीति, आधुनिक प्रविधिको प्रयोग तथा दीर्घकालीन दृष्टिकोणबिना आर्थिक लाभलाई दिगो समृद्धिमा रूपान्तरण गर्न सक्दैन ।
तर यतिबेला जलजलेका गाउँमा आशाको घाम झुल्किएको छ । स्थानीय बासिन्दा रोजगारीको सम्भावनाबाट उत्साहित छन्, विकासको संकेत देख्न थालेका छन् । धेरैका लागि यो ग्यास कुनै आँकडाभन्दा पनि गाउँमा पहिलोचोटि आएको राष्ट्रिय सन्देश हो कि राजधानीबाट टाढा भएका गाउँमा पनि अवसरको ढोका खुल्न सक्छ । जलजलेको माटोमा बलेको यो उज्यालोले केवल ग्यास होइन, सम्भावनाको आभास दिएको छ ।
जलजलेमा बलेको दियोले अब केवल त्यो गाउँ उज्यालो बनाउने होइन, सिङ्गो नेपाललाई आत्मनिर्भरताको नयाँ अध्यायतर्फ डोर्याउनेछ । त्यो दियो निभ्न नदिनु हामी सबैको साझा कर्तव्य पनि हो ।
– सन्तोष सिम्खडा, टोकियो जापान
