वास्तवमै प्रधानमन्त्री धन्यवादको हकदार

असार ८, २०८२

पाठक पत्र

Indeed the Prime Minister deserves thanks

काठमाडौंस्थित ग्वार्को ओभरपासको उद्घाटनका तस्बिरहरू हेर्दा एउटा दृश्यले मनभित्र गहिरो स्पन्दन पैदा गर्‍यो । जहाँ प्रधानमन्त्री ट्राफिक प्रहरीलाई औपचारिक रूपमा उद्घाटन समारोहको रिबन काट्न लगाइरहनुभएको थियो, यो केवल एक औपचारिकता थिएन ।

त्यो क्षण थियो देशका सडकमा रात–दिन खटिएर जनताको ज्यान, अनुशासन र गन्तव्य सुरक्षित बनाउने राष्ट्रसेवकप्रतिको सम्मानको प्रतिनिधि क्षण ।

सडकमा ट्राफिक प्रहरीलाई गाडी रोक्दा, सिटी बजाउँदा, भीडभाडमा चिच्याउँदै ट्राफिक व्यवस्थापन गरिरहेको अवस्थामा मात्र हामी देख्छौं । कहिलेकाहीँ त नागरिकको रिस, गाली र अपमान पनि उनीहरूले सहनुपर्छ । तर उनीहरूकै अविचल सेवाबिना कुनै पनि सडक निर्माणको सार्थकता हुँदैन । ग्वार्को ओभरपासको निर्माणले सहरका हजारौं नागरिकलाई राहत दिएको छ । तर त्यसभन्दा ठूलो राहत त्यो दृश्यले दियो, जहाँ कुर्सीमा बसेर निर्णय लिने नेतृत्वले सडकमा उभिएर सेवा दिने हातको कदर गर्‍यो । यही हो नेतृत्वको सुन्दरतम् अनुहार, जसले श्रमको सम्मान गर्छ, राष्ट्रसेवकप्रतिको कदर गर्छ ।

हामी दशकौंदेखि त्यस्ता शासकहरूको समय पार गर्दै आएका छौं, जो उद्घाटनमा हतारिन्छन्, मञ्चमा पुग्न लालायित हुन्छन्, ताम्रपत्र र शिलालेखमा आफ्नो नाम कुँद्न आतुर हुन्छन् । तर इतिहासले याद राख्ने भनेको त्यो होइन । इतिहासले त कहिल्यै नउभिने, नबोलिने, तर निरन्तर श्रम गर्ने हातहरूलाई सम्झनुपर्छ । त्यसैले विनम्र अनुरोध छ– अब बन्ने प्रत्येक संरचनामा प्रधानमन्त्री, मन्त्री वा उच्चपदस्थ व्यक्तिको नाम होइन, त्यो संरचना बनाउने मजदुरको नाम होस् । उद्घाटनको मञ्चमा ट्राफिक प्रहरी र निर्माण श्रमिकका हातबाट रिबन काटिने परम्परा बसालौं । प्रधानमन्त्रीज्यू, तपाईंले यो थालनी गरिसक्नुभयो, अब यसलाई नियम बनाइदिनुहोस् । त्यो दिन तपाईंको नाम मात्रै होइन, कृतित्व पनि इतिहासमा लेखिनेछ ।

प्रधानमन्त्रीज्यू, अहिले तपाईंले देखाएको यो सानो तर सशक्त कार्यले जनताको मन जितेको छ । सधैँ आलोचना हुने नेतृत्वमा पनि कहिलेकाहीँ यस्ता प्रेरणादायक क्षण आउँछन्, जसले तपाईंको छविलाई न्यानो बनाउँछ, जनतासँगको दूरी घटाउँछ र इतिहासमा एउटा सकारात्मक रेखा कोर्छ ।

सन्तोष सिम्खडा, जापान, टोकियो

पाठक

Link copied successfully