लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीचको संघर्ष चलेकै बेला फेरि इजरायल–इरान युद्ध डरलाग्दो अवस्थामा पुगेको छ । दुवै देशले लडाइँबाट पछि हट्ने संकेत नदेखाउँदा मध्यपूर्वी एसिया रणभूमिमा परिणत हुने त होइन भन्ने आशंका बढेको छ ।
यत्रतत्र छरिएर रहेका यहुदीलाई संगठित पारेर अमेरिकाले सन् १९४८ मा इजरायल स्थापना गरेपछि विभिन्न अरब र छिमेकी देशसँग संघर्ष गर्नुका साथै मरुभूमिलाई हराभरा बनाएको, अत्याधुनिक प्रविधिको प्रयोगबाट इजरायललाई विकसित, शक्तिशाली देशको हाराहारीमा पुर्याएको यथार्थ कसैबाट लुकेको छैन । त्यस्तै आणविक क्षेत्रको विकाससमेतबाट शक्तिसम्पन्न बनेको इरानले महाशक्ति राष्ट्रलाई पनि चुनौती दिँदै आएको छ । एकातिर आर्यहरूको उद्गमस्थल मानिएको र थोरै संख्यामा भए पनि नेपालीले इरानमा रोजगारी पाएको अवस्था छ भने अर्कोतिर वैध रूपमा झन्डै ५५ सय नेपालीले इजरायलमा रोजगारी पाएर राम्रो कमाइ गरिरहेका छन् । जसका कारण दुवै मुलुक नेपालका निम्ति प्रत्यक्ष/अप्रत्यक्ष रूपमा महत्त्वपूर्ण छन् । सुरुमा हमाससँग युद्ध हुँदा नेपालले हतारिएर इजरायलको पक्ष लिँदा प्यालेस्टाइनसँग तिक्तता बढेको, हमासको कब्जामा पुगेका विपिन जोशीको अत्तोपत्तो नभएको सन्दर्भ नियाल्दा कूटनीतिक क्षेत्रमा हामी अत्यन्त कमजोर रहेको पुष्टि हुन्छ । अहिलेको लडाइँले अन्तर्राष्ट्रिय रूप लिन सक्ने खतरा बढेका बेला अन्य खाडी मुलुक प्रभावित भएमा बर्सेनि त्यताबाट भित्रिने रेमिट्यान्समा पनि पूर्णविराम लाग्न सक्ने खतरालाई नजरअन्दाज गर्न सकिँदैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
