इजरायल र इरानबीचको ताजा सैन्य भिडन्तले विश्वलाई फेरि एकपटक युद्धको उन्माद र शान्तिको संकटको दोसाँधमा पुर्याएको छ । ‘अपरेसन राइजिङ लायन’ र ‘अपरेस ट’ प्रमिस–थ्री’ जस्ता सैन्य कारबाहीले तेहरानदेखि तेलअविवसम्म मिसाइलको वर्षा गराउँदा पश्चिम एसियाको आकाश रातभर रक्तरञ्जित भएको छ ।
यो केवल दुई मुलुकको टकराव होइन, यो विश्व शान्ति, आर्थिक स्थिरता र मानवीय मूल्यमाथिको आघात हो । यस्तो बेला हरेक सचेत मन र मुलुकले चेतनाको बिगुल फुक्नुपर्छ । युद्धको उन्माद रोक्न, संयमको मार्ग खोज्न र मानवताको रक्षा गर्न अब ढिला गर्नु हुँदैन ।
इरानको आणविक महत्त्वाकांक्षा र इजरायलको सुरक्षा चिन्ता दशकौँदेखिको तनावको जड हो । तर, यो तनावलाई हतियारको बलमा समाधान खोज्नु आत्मघाती बाटो हो । इजरायलको आक्रमणले इरानको आणविक संरचना र सैन्य नेतृत्वलाई कमजोर बनाएको दाबी गरिए पनि यसले इरानको प्रतिशोधी भावनालाई झन् उग्र बनाएको छ । इरानको जवाफी हमलाले तेलअविवमा रक्तपात मच्चाएको छ । यी दुवै मुलुकको अहंकार र शक्ति प्रदर्शनले गाजाका निम्छरा जनता लकडाउनको
अमानवीय संकटमा धकेलिँदै छन्, तेलको मूल्य अकासिँदै छ र विश्व अर्थतन्त्र डगमगाइरहेको छ ।
विश्व शक्ति राष्ट्रहरूको दोहोरो चरित्रले यो संकटलाई झन् जटिल बनाएको छ । अमेरिकाले इजरायलको प्रतिरक्षा प्रणालीलाई सहयोग गर्दै ‘हाम्रो हात छैन’ भन्नु कूटनीतिक पाखण्ड हो । रुस र चीनले इजरायलको निन्दा त गर्छन्, तर क्षेत्रीय प्रभाव विस्तारको आफ्नै स्वार्थ लुकाउँछन् । संयुक्त राष्ट्रसंघको आह्वान र अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीको प्रतिवेदनले युद्धको जोखिमलाई औँल्याए पनि ठोस कदम चाल्ने सामर्थ्य देखिँदैन ।
नेपालजस्ता शान्तिप्रिय मुलुकलाई यो संकटमा तटस्थ भएर बस्ने सुविधा छैन । हाम्रो अर्थतन्त्र तेलको मूल्यवृद्धिबाट प्रभावित हुन्छ, हाम्रा नागरिकको जीविका जोखिममा पर्छ । त्यसैले, नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्तिको पक्षमा, युद्धविरामको पक्षमा र मानवीय सहायताको पक्षमा जोडदार आवाज उठाउनुपर्छ । गाजाको लकडाउन खुलाउन, इरान र इजरायललाई वार्ताको टेबलमा ल्याउन र आणविक जोखिम रोक्न हाम्रो सानो तर सार्थक भूमिका जरुरी छ ।
यो युद्धको आगोले पश्चिम एसियालाई मात्र होइन, सिंगो विश्वलाई जलाउने खतरा छ । अब युद्धको नारा होइन, शान्तिको सन्देश बोकेर हामी एकजुट हुनुपर्छ । इजरायल र इरानलाई हतियार होइन, संवादको हात अघि बढाउन बाध्य पारौँ । गाजाका बालबालिकाको आँसु, तेहरान र तेलअविवका पीडितको रुवाबासी र विश्व बजारको अस्थिरताले हामीलाई प्रश्न गर्छ— हामी कस्तो विश्व निर्माण गर्न चाहन्छौँ ? यो प्रश्नको जवाफ हाम्रो चेतना र एकतामा निहित छ । अब चुप लागेर बस्ने समय होइन, शान्तिका लागि आवाज उठाउने बेला हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
