इजरायलले अहिलेसम्मकै ठूलो आक्रमण गरेको समाचार विश्वभरि फैलिरहँदा इरानले पनि इजरायलतर्फ आक्रमण गरेको समाचार आइरहेका छन् । इजरायलमा ठूलो संख्यामा नेपाली श्रमिकका रूपमा कार्यरत छन् ।
यतिखेर उनीहरू त्रसित बनिरहेका छन् । जो भर्खरै नेपालबाट त्यहाँ पुगेका छन्, उनीहरू बढी डराइरहेका समाचार आइरहेका छन् ।
उनीहरू सुरक्षित रूपमा घर फर्किन चाहन्छन् भने उनीहरूको व्यवस्थापन त्यहाँ रहेको नेपाली दूतावासले गर्नुपर्ने हुन्छ ।
तर त्यसतर्फ न दूतावास, न त नेपाल सरकारको नै ध्यान गएको छ । काम गर्दा ढिला गर्ने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ ।
इजरायल–इरान युद्ध छिट्टै समाधानतर्फ उन्मुख हुने अवस्था देखिँदैन । इजरायलको आक्रमणबाट इरानका सैन्य प्रमुखको मृत्यु भइसकेको अवस्थामा जवाफी कारबाहीमा ऊ अगाडि बढिरहेको छ । त्यसको थप मार नेपालीले भोग्ने पनि निश्चित छ ।
वास्तवमा इजरायलमा कति नेपाली काम गरिरहेका छन्, कति पढ्दै छन्, त्यसको जानकारी नेपाल सरकारलाई छ कि छैन ?
छ भने आधिकारिक जानकारी लिएर छिटो काम गर्नुपर्यो । त्यही इजरायली भूमिमा बेपत्ता भएका विपिनको उद्धार गर्न नसकेको अवस्थामा आज फेरि त्यही विपत्ति अरू नेपालीले बेहोर्नु नपरोस् । नेपाल सरकारसँग बिन्ती छ– विपिनको नियति अरूले भोग्नु नपरोस् ।
राज्य भनेको अभिभावक हो । अभिभावकको पहिलो जिम्मेवारी आफ्ना सन्तानको सुरक्षा नै हो । अतः सरकारले युद्धको मैदान बन्दै गरेका देशमा रहेका आफ्ना नागरिकको अवस्थालाई प्राथमिकता देओस् । इजरायल र इरानमा रहेका नेपालीको विशेष सुरक्षातर्फ सरकारको ध्यान जाओस् ।
– रामकृष्ण बराल, जोरपाटी–५, काठमाडौं
