काठमाडौँ — कान्तिपुरमा प्रकाशित ‘स्मृति हरिजन चमार बनिन् डाक्टर’ शीर्षक समाचार प्रेरणादायी लाग्यो । राजधानीदेखि धेरै टाढा र दुर्गम जिल्ला नभए तापनि कपिलवस्तुलाई तराईको पिछडिएको जिल्लाका रूपमा लिइन्छ । त्यही जिल्लाकी एक चेली डाक्टर बनेकामा बधाई छ ।
कान्तिपुरमा प्रकाशित ‘स्मृति हरिजन चमार बनिन् डाक्टर’ शीर्षक समाचार प्रेरणादायी लाग्यो । राजधानीदेखि धेरै टाढा र दुर्गम जिल्ला नभए तापनि कपिलवस्तुलाई तराईको पिछडिएको जिल्लाका रूपमा लिइन्छ । त्यही जिल्लाकी एक चेली डाक्टर बनेकामा बधाई छ ।
पारिवारिक आर्थिक अवस्था कमजोरका बाबजुद अध्ययनमा समर्पित, लगनशील तथा अठोट भएका कारणले नै यस्तो नतिजा आएको हो, यसमा दुईमत छैन । उनको यो सपनालाई विपनामा रूपान्तरण गर्न अभिभावकको ठूलो भूमिका रहेको तथ्य स्मृतिको सफलताले प्रमाणित गरेको छ ।
छात्रवृत्तिमा अध्ययन गर्न पाउनासाथ सम्पूर्ण खर्च त पाइँदैन । विद्यार्थीलाई आवश्यक पर्ने कापी, कलम, अन्य स्टेसनरी र खाजा खर्चका लागि पनि पैसा चाहिने हुन्छ । यसका लागि उनका पिता सन्तरामले हिम्मत नहारेरै अगाडि बढे, ऋणधन गरेरै छोरीलाई समाजकै अब्बल छोरीमा परिणत गराए । उनले तिर्नुपर्ने ऋण २० लाख देखिएको छ, तर बितेको अवधिमा भोगेको तनाव, दौडधुपको त हिसाब देखाएकै छैनन् ।
यसरी आर्थिक अवस्था दयनीय, समाजको रुढिवादी परम्परा सबै सहेर भएको सम्पत्ति बिक्री गरे, भएभरका गरगहना पनि बिक्री मात्र नगरी ज्याला मजदुरी गरी जोहो गरेको रकम लगानी गरेर पनि अपुग भएको रकम ऋण काढेरै छोरीको भविष्य निर्माण गर्ने सन्तराम हरिजनलाई साधुवाद ! स्मृति हरिजनजस्तो हिम्मतिली, लगनशील, परिश्रमी र उच्च मनोकांक्षा लिएर अगाडि बढेको खण्डमा अवश्य सफल भइन्छ, न कि जातजातिको कारणले । साथै स्मृतिले जुनसुकै समाज, प्रदेश वा केन्द्रसम्म एक योग्य चिकित्सकको सम्मान पाउनेमा किञ्चित द्विविधा छैन ।
– गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची
