काठमाडौँ — २०७४ मा एमाले र माओवादी एउटै पार्टी बनेर झन्डै दुईतिहाइको सरकार बन्यो । कतिपयले त्यसलाई खुब ‘ठूलो काम’ ठानेका थिए र आशा पनि ठूलै गरेका थिए । तर त्यो आशा निराशामा परिणत भयो ।
२०७४ मा एमाले र माओवादी एउटै पार्टी बनेर झन्डै दुईतिहाइको सरकार बन्यो । कतिपयले त्यसलाई खुब ‘ठूलो काम’ ठानेका थिए र आशा पनि ठूलै गरेका थिए । तर त्यो आशा निराशामा परिणत भयो ।
आफूलाई आफैंमाथि विश्वास नभएपछि आफ्नो अस्तित्व जोगाउन २०७९ को संसदीय चुनावी गठबन्धन विचित्रको देखियो । एउटा पार्टीका उम्मेदवारले अर्को पार्टीको चुनाव चिह्न पाए । जन्मजात एउटै पार्टीमा मत दिँदै आएकाले अर्को पार्टीमा मत दिनुपर्यो । यस्तो भएपछि कुन पार्टी कुन हो भन्ने कुरामा सामान्य जनता अलमलिने नै भए ।
चुनावपछि पछिल्लो समयमा आएर कहिले तेस्रो पार्टी र कहिले दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्ने गरेको छ । पहिलो पार्टी नेतृत्व गर्ने आशामा प्रतीक्षारत अनि अन्य पार्टीका जायज आवाजलाई नेतृत्वमा रहेका ठूला पार्टीले सुन्न छोडेका छन् । यसरी हेर्दा, सत्यको जित र अडान हुनुपर्नेमा असत्यको जित र अडान देखिएको छ ।
तीन ठूला दलका नेताले बेग्लाबेग्लै र मिलेमतोमा गरेको गम्भीर भ्रष्टाचार र काण्ड नेपाली जनतासामु घामझैं छर्लङ्ग छ । तर उनीहरू आफूले सुविधाजनक रूपमा सम्पन्न गरेर आएको भ्रष्टाचारको ट्र्याक कसै गरेर पनि मेटाउन चाहँदैनन् । जनताको कुरो सुन्नु त परै जाओस् । यस क्रममा, ‘हामीबाहेक कसैले पनि सत्ताको नेतृत्व गर्न पाएमा हाम्रो अस्तित्व रहने छैन’ भन्ने उनीहरूको पहिलो निष्कर्ष छ । त्यस्तै, आमजनतामा रहेको आफूप्रतिको आक्रोश, विरोध, असन्तुष्टि सुनेर आफूआफू सुध्रिनुभन्दा एकअर्काले गरेका कुकृत्य जोगाउनुमै कल्याण छ भन्ने उनीहरूको दोस्रो निष्कर्ष हो ।
यसको पछिल्लो उदाहरण भिजिट भिसा प्रकरणमा पुष्पकमल दाहालको आत्मसमर्पणले पनि देखाउँछ । यस्तो अवस्थामा २०८४ को चुनावमा तीन दल एउटै चुनाव चिह्न लिएर उठ्नेसम्मको गोप्य रणनीति बाहिरियो भने पनि अनौठो नमाने हुन्छ ।
– इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
किसान सधैं मर्कामा
कृषिप्रधान देशका जनताले मल समयमा पाउँदैनन् बीउबिजन समयमा पाउँदैनन्, सिँचाइ छैन, बल्लतल्ल उत्पादन गरेको वस्तुले पनि बजार पाउँदैन अनि कसरी मुलुकको कृषि व्यवसाय फस्टाउँछ त ? नामले मात्र कृषि फस्टाउने होइन, त्यसका लागि समयमै बीउबिजन र मल उपलब्ध गराउनुपर्यो । हरेक वस्तु विदेशबाट आयात गर्नुपर्न बाध्यता छ । यसको अन्त्य कहिले होला ? अब भाषणमा मात्र बोलेर हुन्न, व्यवहारमा कहिले उतार्ने नेताज्यूहरू ?
धान बाली लगाउने बेलामा मल चाहिन्छ भन्ने कुरा हाम्रा कृषिमन्त्री र मन्त्रालयका कर्मचारीलाई थाहा नभएको होइन । समस्याप्रति बेवास्ता र नजरअन्दाज गर्दाको यो परिणाम हो ।
सरकारले आफ्नो देशमा मल उत्पादन उद्योग खोल्न सक्दैन, यो सबैलाई थाहा नै भएको कुरा हो । अन्य देशबाट किन्ने मल पनि समयमा किन्न के कुराले रोकेको छ ? यो चाहिँ बुझ्नै नसकिने छ । किसानले पैसा तिरेर मल किन्छु भन्दा पनि नपाउनु भनेको मुलुककै लागि विडम्बना हो । बिचौलियाहरूले बढी मूल्य लिएर धमाधम मल बजारमा ल्याएका छन्, सरकार र मन्त्रालय रमिते मात्रै बनिरहेको छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
