भ्रातृमात्रै होइन, मातृपितृ संगठनका पनि भवन

जेष्ठ ३०, २०८२

पाठक पत्र

Not only the fraternity, but also the building of the matriarchal organization

महावीर पुन राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका व्यक्तित्व हुन् । उनीजस्ता व्यक्तिले माग गर्दासमेत राष्ट्रिय आविष्कार केन्द्रका लागि पैसा पाएनन् । पैसाका लागि उनले आफूले पाएको तक्मा, जग्गा बिक्रीका लागि विज्ञापन गरे । सफल नभएपछि यतिखेर किताब बेचेर हिँड्दै छन् ।

विकास निर्माणका कुरा गर्ने हो भने एक लट सबैतिर सानाठूला टावर बनाइसकियो । अब तीमध्ये कतिलाई त मर्मत गर्ने बेला पनि भैसक्यो होला । मन्त्री निवास साँघुरो भएर थप्नुपरेको छ । बिस्तारै बालुवाटार, शीतल निवास, सिंहदरबार पनि साँघुरा होलान् । विभिन्न पार्टी कार्यालयका लागि धमाधम बजेट छुट्टिँदै छन्, कुनै शिलान्यास हुँदै छन् । पार्टीका भ्रातृ संगठनका मात्र होइन, मातृपितृ संगठनका पनि कुनै न कुनै नाममा भवन बनिरहेका छन् । संस्था स्थापना भइरहेका छन् । योगदान, पहिचान इत्यादिका नाममा जताततै सालिक, मूर्ति बनाउने होड पनि चलेकै छ । मन्दिर, धर्मशाला बनाउने काम त झन् कहिल्यै रोकिने कुरै भएन ।

देशमा भएका उद्योगधन्दा मासियो । नयाँ खोल्न सक्ने अवस्था छैन । कसै गरी खोलिहाले पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्नै गाह्रो छ । सबै वस्तु आयात मात्रै भइरहेको छ, निर्यात भनेको त मान्छे मात्रै भइरहेका छन् । वैदेशिक ऋण बढेको, अर्थतन्त्र रेमिट्यान्सबाट चलेको सबैलाई थाहै छ । अनेक भ्रष्टाचार र सोच्दै नसोचेका काण्ड मच्चिँदा पनि दोषीलाई कारबाही नहुनु, नेतामा नैतिकता हराउनु र न्यायालयको साख गिर्नु सामान्य भएको छ ।

अनेक थरी आयोगका पदाधिकारी, मन्त्री, सांसद, स्थानीय सरकार प्रमुखका लागि सुविधा टन्न छ । सामान्य जनतालाई महँगी, बेरोजगारी छँदै छ । श्रमजीवी निम्न स्तरीय कर्मचारीलाई मुस्किलले धान्ने तलब सुविधा दिन पनि गाह्रो भैसक्यो । तर पूर्वविशिष्टको सेवा सुविधा बढाउने फाइलचाहिँ छिटोछिटो बढ्दै छ ।
यसरी नै देश विकास र समृद्धिको उचाइमा चढ्दै छ ।

इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

पाठक पत्र

Link copied successfully