महावीर पुन राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएका व्यक्तित्व हुन् । उनीजस्ता व्यक्तिले माग गर्दासमेत राष्ट्रिय आविष्कार केन्द्रका लागि पैसा पाएनन् । पैसाका लागि उनले आफूले पाएको तक्मा, जग्गा बिक्रीका लागि विज्ञापन गरे । सफल नभएपछि यतिखेर किताब बेचेर हिँड्दै छन् ।
विकास निर्माणका कुरा गर्ने हो भने एक लट सबैतिर सानाठूला टावर बनाइसकियो । अब तीमध्ये कतिलाई त मर्मत गर्ने बेला पनि भैसक्यो होला । मन्त्री निवास साँघुरो भएर थप्नुपरेको छ । बिस्तारै बालुवाटार, शीतल निवास, सिंहदरबार पनि साँघुरा होलान् । विभिन्न पार्टी कार्यालयका लागि धमाधम बजेट छुट्टिँदै छन्, कुनै शिलान्यास हुँदै छन् । पार्टीका भ्रातृ संगठनका मात्र होइन, मातृपितृ संगठनका पनि कुनै न कुनै नाममा भवन बनिरहेका छन् । संस्था स्थापना भइरहेका छन् । योगदान, पहिचान इत्यादिका नाममा जताततै सालिक, मूर्ति बनाउने होड पनि चलेकै छ । मन्दिर, धर्मशाला बनाउने काम त झन् कहिल्यै रोकिने कुरै भएन ।
देशमा भएका उद्योगधन्दा मासियो । नयाँ खोल्न सक्ने अवस्था छैन । कसै गरी खोलिहाले पनि विश्व बजारसँग प्रतिस्पर्धा गर्नै गाह्रो छ । सबै वस्तु आयात मात्रै भइरहेको छ, निर्यात भनेको त मान्छे मात्रै भइरहेका छन् । वैदेशिक ऋण बढेको, अर्थतन्त्र रेमिट्यान्सबाट चलेको सबैलाई थाहै छ । अनेक भ्रष्टाचार र सोच्दै नसोचेका काण्ड मच्चिँदा पनि दोषीलाई कारबाही नहुनु, नेतामा नैतिकता हराउनु र न्यायालयको साख गिर्नु सामान्य भएको छ ।
अनेक थरी आयोगका पदाधिकारी, मन्त्री, सांसद, स्थानीय सरकार प्रमुखका लागि सुविधा टन्न छ । सामान्य जनतालाई महँगी, बेरोजगारी छँदै छ । श्रमजीवी निम्न स्तरीय कर्मचारीलाई मुस्किलले धान्ने तलब सुविधा दिन पनि गाह्रो भैसक्यो । तर पूर्वविशिष्टको सेवा सुविधा बढाउने फाइलचाहिँ छिटोछिटो बढ्दै छ ।
यसरी नै देश विकास र समृद्धिको उचाइमा चढ्दै छ ।
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा
