विद्याको सक्रियताले तरंगित एमाले

जेष्ठ २९, २०८२

पाठक पत्र

Vidya's activism rippled through the UML

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेमा फर्कन गरेको चहलपहलले त्यस पार्टीमा ठूलै भूकम्प गएको छ । खासगरी पार्टीलाई आफ्नो मुठीमा राखी कब्जा जमाएका अध्यक्ष केपी शर्मा ओलीलाई भण्डारीका त्यस्ता खाले गतिविधि सह्य भएको छैन ।

ओलीले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममै भण्डारीलाई ‘फलानो’ को संज्ञा दिँदै पार्टीमा आउने चेष्टा नगरे हुन्छ भन्ने खालको अभिव्यक्ति दिएका थिए । यसअघि निकै घनिष्ठ सम्बन्धमा रहेका ओली र भण्डारीका बीचमा यही कारणले टसल देखिन थालेको छ । भण्डारीको गतिविधि हेर्दा उनी एमालेको एक प्रभावशाली नेतृ नै हुन् भन्न सकिन्छ, त्यसो त केही समय अगाडि चीन भ्रमणमा गएकी उनलाई चीनले एमाले नेताकै रूपमा व्यवहार गरेको थियो ।

एमालेमा ओलीको तानाशाही व्यवहारले बोल्न नपाएका र बोल्न नसकेका नेता/कार्यकर्ता पिल्सिएर बसिरहेका छन् । यसअघि कायम गरिएको उमेर हद ओलीले आफ्नै लागि हटाए, महाधिवेशनको नाम दिए पनि दुई कार्यकाल निर्विरोधजस्तै आफैंले आफैंलाई अध्यक्ष घोषित गरे । अर्को एक कार्यकाल उनी पुनः त्यही प्रक्रिया दोहोर्‍याउने दाउमा लागिपरेका छन् । त्यसैले विद्या भण्डारीको सक्रियता उनलाई कुनै दृष्टिले पनि मन परेको देखिँदैन ।

यदि ओली आगामी कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्ने मनस्थितिमा हुन्थेनन् भने उनी आफैंले भण्डारीको हात समातेर पार्टीको नेतृत्व सुम्पिने थिए भन्ने कुरामा दुईमत छैन । भण्डारीलाई पार्टीमा आउन नदिन ओलीले हिजोआजैदेखि विभिन्न योजना बनाउन थालेका छन् । पछिल्ला दिनमा ओलीले हरेकजसो सार्वजनिक कार्यक्रममा भण्डारी र भण्डारीलाई पार्टीमा फर्काउन लागिपरेकाहरूलाई घुमाउरो किसिमले पार्टीभित्र गुट/उपगुट सिर्जना नगर्न र कसैले पार्टीलाई कमजोर नठान्न भन्दै चेतावनीमूलक अभिव्यक्ति दिँदै आइरहेका छन् ।

एकातिर भण्डारी एमाले अध्यक्ष ओलीले व्यक्त गरेका भनाइहरू आफूप्रति लक्षित नभएको भन्दै आइरहेकी छन् भने अर्कातिर ओलीले घुमाउरो शैलीमा चेतावनीमूलक तवरले भण्डारीलाई आफ्नो थान्कोमा बस्न दबाब दिई नै रहेका छन् । कुनै बेला निकै नजिक रहेका र ओलीले वचन काट्न नसक्ने भण्डारी पछिल्लो समय एकाएक ओलीको विरुद्धमा लागेर उनैलाई टक्कर दिन मैदानमा उत्रिने अभ्यास गरिरहेको देख्दा एमालेमा यति बेला भूकम्प नै गएको छ ।

सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

पाठक पत्र

Link copied successfully