आफ्नो मातृभूमि फर्किनु पराजय होइन

जेष्ठ २८, २०८२

पाठक पत्र

Returning to one's homeland is not a defeat

सपना पूरा गर्न परदेश उडेका थुप्रै नेपाली नागरिकमध्ये डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेयता अमेरिकी सरकारले डिपोर्ट गरेपछि १ सय ७७ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

तीमध्ये अधिकांश युवा थिए, जसले रिन काढेर, घरबार बेचेर, तस्करी गिरोहमार्फत जीवनको ठूलो जोखिम मोलेर अमेरिका पुगेका थिए । तर उनीहरूको यात्रा असफल रह्यो । कोही सिमानामा समातिए, कसैले जेलको यातना भोगे, अनि अन्ततः सबै आफ्नै माटोमा फर्किन बाध्य भए । यो केवल व्यक्तिगत विफलताको कथा होइन, बरु हाम्रो राज्य व्यवस्थाको गहिरो असफलताको संकेत हो, जहाँ आफ्नै देशले बाँध्न नसकेको सपना परदेशले तोडिदियो ।

अब तिनै युवा, जो कहिले अन्तर्राष्ट्रिय आकाशमा सपनाको जहाज चढेर उडेका थिए, आज विमानको झ्यालबाट निराश आँखाले त्रिभुवन विमानस्थलतिर हेर्दै फर्किएका छन् । उनीहरूलाई हेर्दा देशले केवल सहानुभूति होइन, सम्मान र सम्भावना दिनुपर्छ । अमेरिकाबाट फर्काइएका ती नेपाली कुनै अपराधी होइनन्, बरु यो देशको संरचनागत कमजोरीले परदेशी बनाएका नागरिक हुन् । अब तिनै हातहरूलाई तस्करीको बोरा होइन, प्रगतिको गैंती थमाउनु आवश्यक छ । हामी सबैले ती युवालाई नकार्ने होइन, साथ दिने समय आएको छ । अब उनीहरूले आत्मग्लानि होइन, आत्मविश्वास बोकेर बाँच्न पाउनुपर्छ । उनीहरूलाई भन्न जरुरी छ– तपाईंहरू फर्किएको हो, हारेको होइन । पराई भूमिमा ओइलाएको सपना अब आफ्नै माटोमा फुल्नेछ ।

स्थानीय सरकार, संघीय निकाय र समाजले समेत फर्किएका नेपालीका लागि सीप आधारित कार्यक्रम, कृषिमा प्रविधि हस्तान्तरण, सहुलियत ऋण र सामाजिक पुनःस्थापना योजनामा हातेमालो गर्नुपर्छ । यो केवल पुनःस्थापना होइन, राष्ट्रिय पुनर्जागरणको अवसर पनि हो ।

यो घडी आँसु पुछेर अडिने होइन, उठेर अगाडि बढ्ने घडी हो । तपाईंका पाइला अब इतिहास बन्न सक्छन्, जहाँ तस्करीको कालो कथा समाप्त भई, श्रम र सिर्जनाको नयाँ अध्याय सुरु हुन्छ । त्यसैले उठौं, जुटौं र बनाऔं आफ्नै देश ।

सन्तोष सिम्खडा, टोकियो जापान

पाठक

Link copied successfully