भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने एकसूत्रीय मागमा प्रमुख प्रतिपक्षी दल माओवादी लचक देखिएको छ । तर, रास्वपाको कडा रवैयाका कारण संसद् अवरोध भने कायमै छ ।
सोमबार दलहरूबीच सहमति बन्न नसकेपछि बुधबारसम्मका लागि संसद् स्थगित गरिएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू अग्रभागमा नदेखिई सत्ताको प्रमुख साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवालाई अगाडि सारेर प्रतिपक्षी दलहरूलाई घुँडा टेकाउन चालेको कदम असफल बनेको छ ।
अहिले जसरी विपक्षी दलहरूले रमेश लेखकको राजीनामालाई आफ्नो एकसूत्रीय मागका रूपमा अगाडि सारेर जेठ १३ गतेदेखि प्रतिनिधिसभा अवरुद्ध गर्दै आइरहेका छन्, त्यसैगरी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप लागेका तत्कालीन गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिनुपर्ने माग राखेर तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि प्रतिनिधिसभा अवरुद्ध गरेको थियो । त्यसबेला जसरी सत्ताको प्रमुख साझेदार दलको संसदीय दलको नेताका हैसियतमा वर्तमान प्रधानमन्त्री ओलीले विभिन्न तर्क प्रस्तुत गर्दै रवि लामिछानेले राजीनामा दिनु नपर्ने तर्क प्रस्तुत गर्दै आएका थिए ।
ओलीले त्यही भनाइ अहिले गृहमन्त्री लेखकको बचाउमा पनि प्रयोग गरेका छन् । लामिछानेको प्रकरणमा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको हैसियतमा
संसद्मा जोडदार अभिव्यक्ति राख्ने उनै लेखकमाथि अहिले जुन प्रकरण जोडिएर आएको छ, कांग्रेसले तत्कालीन अवस्थामा लामिछानेमाथि प्रश्न उठिसकेपछि राजीनामा दिनुपर्छ भन्ने मान्यता आज उनै लेखकले लत्याएर आफ्नै अभिव्यक्तिको अपमान गरेका छन् ।
सतही रूपमा आफूले उठाउँदै आएको मुद्दामा प्रमुख प्रतिपक्षी दल माओवादीले जुन आधार देखाएर लचकता अपनाएको भनिए पनि मुख्यतः माओवादीका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटामाथि लागेको व्यक्ति हत्याकाण्डको कुरा पुनः उब्जिएपछि प्रमुख प्रतिपक्षी र सत्ता साझेदार दलहरूका बीचमा सापकोटा र लेखकको प्रकरण साटासाट गरेको र मिलनबिन्दु खोजेको भन्ने बुझाइ आममानिसमा पर्न गएको छ ।
–सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
