नेपालको मध्यपहाडी क्षेत्रलाई राजधानीसँग जोड्ने बीपी राजमार्ग, जुन विकासको गौरवशाली प्रतीक थियो, आज भग्नावशेषमा परिणत भएको छ ।
गत असोजमा बाढीपहिरोले चौकीडाँडा–बर्खेखोला खण्ड भत्काएको ८ महिना बितिसक्दा पनि सरकार निद्रामै छ । अस्थायी डाइभर्सनमा सवारीसाधन चिप्लिन्छन्, दुर्घटना हुन्छ र यात्रुहरूको जीवन जोखिममा पर्छ । मंगलबार मात्र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको पिकअप भ्यान पल्टियो । पछिल्लो ४ महिनामा भएको यो चौथो दुर्घटना हो । यस्तो अवस्थामा पनि सरकारको मौनता र निष्क्रियता केवल लाचारी होइन, जनताको भरोसामाथिको घात हो ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको नाममा बनेको यो राजमार्ग केवल सडक होइन, यो प्रजातान्त्रिक र सामाजिक न्यायको सपनाको प्रतीक पनि हो । सन् १९९६ मा जापान सरकारको सहयोगमा सुरु भएको यो परियोजना सन् २०१५ मा सम्पन्न हुँदा २६ अर्ब जापानी येनको लगानीले नेपालको आर्थिक र सामाजिक परिदृश्य बदलिएको थियो । खुर्कोट र मुलकोट सहरमा परिणत भए, सिन्धुलीका किसानका उत्पादन काठमाडौंसम्म पुगे र स्थानीयको जीवनस्तरमा सुधार आयो ।
यो राजमार्ग इन्जिनियरिङको उत्कृष्ट नमुना र अन्तर्राष्ट्रिय सहयोगको गहकिलो उदाहरण थियो । तर, आज यो गौरव धुलाम्य बाटो र हिलाम्य जोखिममा सीमित भएको छ । सरकारको ढिलासुस्तीले यो ऐतिहासिक राजमार्गको गरिमामाथि धब्बा लगाएको छ । सरकार होसमा आओस्, जनताको जीवन र देशको गौरवको रक्षा गर्न तत्काल कदम चालोस् ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
