शेखर–गगनको शक्ति

जेष्ठ २०, २०८२

पाठक पत्र

Shakti of Shekhar-Gagan

११ महिनापछि गगन थापा र शेखर कोइरालाले एउटै टेबलमा बसेर छलफल गरिरहेको तस्बिर सार्वजनिक हुँदा कांग्रेस राजनीतिमा एक प्रकारको तरंगै आएको छ ।

भेटमा के के कुरा भयो ? त्यो कुरा दुवै नेताले सार्वजनिक नगरे पनि उनीहरू मिलेर आसन्न महाधिवेशनमा जानुपर्छ भन्ने पक्षधरलाई भने उक्त भेटले निकै सन्तोष दिएको छ ।

गगन–शेखरबीच फाटो आउँदा सिधै शेरबहादुर देउवालाई फाइदा पुग्ने निश्चित छ । यद्यपि, आउने महाधिवेशनमा विधानका कारण देउवा सभापतिमा उठ्न नपाउने भए पनि उनको आशीर्वाद लिएर सभापति बन्न आतुर आधा दर्जन नेता अहिलेदेखि नै मैदानमा ताउरमाउर गर्दै छन् । तथापि गगन–शेखर मिल्ने हो भने आउँदो महाधिवेशनमा उनीहरूलाई हराउन देउवा पक्षधरलाई फलामको चिउरा चपाएसरह हुनेछ । शेखर–गगनबीच एउटाले पार्टी सभापति र अर्कोले प्रधानमन्त्री बन्ने गरी सहमति गरेमा यी दुईबीच कुरा मिल्ने सम्भावना हुन्छ । तर, दवैले पार्टी सभापतिमै लड्छु भन्ने अडान राख्ने हो भने पुनः देउवा पक्षले पार्टी नेतृत्व कब्जा गर्न सक्छ ।

यसैबीच पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणले रूपन्देहीमा पुगेर आफूले दुई जना डाक्टर (डा. शेखर कोइराला र डा.मीनेन्द्र रिजाल) को संगत नछोड्ने भनेर भाषण गरेपछि देउवा समूहमा ठूलो खैलाबैला नै उत्पन्न भएको छ । केही दिनअघि तिनै खाण देउवा समूहको ११ भाइको भेलामा सरिक रहेका थिए । उनलाई देउवा कित्ताकै खम्बा मानिन्थ्यो । तर अब कित्ता परिवर्तनको संकेत आएको छ । २०८२ मंसिरमै महाधिवेशन होला भन्ने आस र आधार पनि देखिँदैन । अहिलेसम्म देउवाले आफ्नो मुख खोलेका छैनन् । अहिले देउवाले आफ्नो सम्पूर्ण शक्ति शेखर र गगनबीच फाटो उत्पन्न गर्नपट्टि नै लगाएका छन् । जसमा केही मात्रामा उनी सफल पनि देखिएका छन् ।

गोपाल देवकोटा, कामनपा–७, चाबहिल

पाठक पत्र

Link copied successfully