‘न्यायको खरानी’ माथि उठेको प्रश्न

जेष्ठ १६, २०८२

पाठक पत्र

The question raised above the 'ashes of justice'

रौतहटको राजपुर नगरपालिका, फरदवा गाउँमा २०६४ चैत २७ गते राति भएको बम विस्फोट र त्यसपछि २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर प्रमाण नष्ट गरेको अभियोगमा मोहम्मद आफताब आलमसहित ११ जनाविरुद्ध मुद्दा चलेको थियो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले २०८२ जेठ १४ मा ‘संकलित सबुतबाट बम विस्फोटको वारदात वस्तुनिष्ठ रूपमा पुष्टि हुन नसकेको’ भन्दै आलमसहित ४ जनालाई सफाइ दिएको छ । यो फैसलाले नेपालको न्याय प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ र पीडित परिवारलाई थप अन्यायको भारी बोकाएको छ ।

यो घटना पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको थियो, जसमा आलम नेपाली कांग्रेसका उम्मेदवार थिए । अभियोगअनुसार विस्फोटमा घाइते पिन्टु (त्रिलोकप्रसाद सिंह) र ओसी अख्तरलाई बोरामा हालेर राजा इँटा उद्योगको चिम्नी भट्टामा जलाइएको थियो । घाइते गौरीशंकरले कान्तिपुर टीभीमा बम नभई स्टोभ पड्केको भन्न बाध्य पारिएको दाबी गरेका थिए । २०७६ कात्तिक १८ मा दर्ता भएको यो मुद्दामा आलम २०७६ असोजमा पक्राउ परेका थिए । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो, तर उच्च अदालतले यो फैसला उल्टाउँदै आलमलाई बुधबार नख्खु कारागारबाट रिहा गरेको छ ।

उच्च अदालतले बम विस्फोट र इँटाभट्टामा जलाएको आरोपलाई ठोस प्रमाणले पुष्टि गर्न नसकेको तथा विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनले पनि अभियोग स्थापित नगरेको उल्लेख गरेको छ । तर, जिल्ला अदालतले भने अनुसन्धान, साक्षी बयान, मानव अधिकार संगठनको प्रतिवेदन र घटनास्थलको फोटोग्राफबाट विस्फोट र हत्याको तथ्य स्थापित भएको ठहर गरेको थियो । यस्तो विरोधाभासले अनुसन्धानको गहिराइ र निष्पक्षतामाथि प्रश्न उठाउँछ । प्रहरीले घटनास्थलमा विस्फोट नभएको मुचुल्का बनाएको, १४ वैशाख २०६५ मा मात्र अनुसन्धान सुरु भएको र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको इतिहासले पनि यो मुद्दामा राजनीतिक प्रभावको आशंका गहिरो बनाउँछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ‘आलमलाई छुटाउन बारम्बार प्रयास गरेको’ भनाइले यो मुद्दालाई थप विवादास्पद बनाएको छ । आलम, जो रौतहट–२ बाट चार पटक सांसद र पटक–पटक मन्त्री बनेका शक्तिशाली नेता हुन्, उनको परिवारको राजनीतिक प्रभावले पनि यो मुद्दामा प्रश्न उठाएको छ । उनका कान्छा छोरा राजिक आलम राजपुर नगरपालिकाको प्रमुख छन् र उनले सधैं शक्तिकेन्द्रसँग निकट सम्बन्ध राखेका छन् । यस्तो पृष्ठभूमिमा अदालतको फैसला ‘स्वतन्त्र र निष्पक्ष’ रहेकामा शंका उत्पन्न हुन्छ ।

यो फैसलाले पीडित परिवारलाई ठूलो आघात पुर्‍याएको छ । ओसी अख्तरकी आमा रुक्सनाको २०६७ मा हत्या भएको थियो, जसले यो घटनामा साक्षीलाई दबाउने प्रयासको संकेत गर्छ । सर्वोच्च अदालतले २०६९ मा गम्भीर अनुसन्धान गरी मुद्दा चलाउन आदेश दिएको थियो, तर उच्च अदालतको पछिल्लो फैसलाले ती प्रयासलाई कमजोर बनाएको छ । जब शक्तिशाली व्यक्तिहरूले कानुनलाई प्रभावित गर्छन्, तब सामान्य नागरिकको न्यायको आशा कमजोर हुन्छ । यो मुद्दा सर्वोच्च अदालतमा अपिल हुने सम्भावना छ र पीडितले त्यहाँबाट न्याय पाउने आशा जीवित छ ।

नेपालको न्याय प्रणालीमा सुधारको आवश्यकता यो घटनाले थप स्पष्ट पारेको छ । अनुसन्धानमा पारदर्शिता, साक्षी संरक्षण र प्रमाण संकलनमा कडाइबिना यस्ता मुद्दामा न्याय सम्भव छैन । यो फैसलाले समाजमा अन्यायको भावना गहिरो बनाएको छ र सामाजिक सद्भावलाई खल्बलाउने जोखिम बढाएको छ । अब प्रश्न उठ्छ: ‘खोइ ज्यान ? खरानी भयो, खोइ खरानी ?

उड्यो !’ यो प्रश्नको जवाफ खोज्नु अबको आवश्यकता हो, ताकि भविष्यमा यस्ता अन्यायका कथा दोहोरिन नपाऊन् ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully