मुलुकको अधोगतिसँग जोडिएका कान्तिपुरका ती तीन खबर

जेष्ठ १५, २०८२

पाठक पत्र

Those three news from Kantipur that are connected with the decline of the country

मंगलबार कान्तिपुरको मुखपृष्ठमा प्रकाशित समाचार पढ्ने जोकोहीले मुलुक अँध्यारोतर्फ धकेलिएको, चारैतिर कालो बादल मडारिइरहेको आकलन गर्न सक्छ ।

‘प्रदेश सांसदले पनि मागे ५ करोडसम्म बजेट, दबाबमा मुख्यमन्त्रीहरू’ शीर्षक खबर नीति निर्माणमा ध्यान दिनुपर्ने प्रदेश सांसद कार्यपालिकाको हक खोस्दै बजेट हत्याउन लागिपरेको विषयसँग सम्बन्धित छ । त्यस्तै ‘कागजात शंकास्पद भएपछि बिमा प्राधिकरण अध्यक्ष ओझा अख्तियारको छानबिनमा’ शीर्षक समाचारमा पनि सकारात्मकता भेटिँदैन ।

तीन महिनाअघि अर्थात् १२ फागुन २०८१ को मन्त्रिपरिषद् निर्णयबाट चार वर्षका लागि नियुक्त भएका ओझा छोटो समयमै शंकाको घेरामा पर्नुलाई आफ्ना मान्छे छान्ने दलीय होडबाजीको परिणति मान्न सकिन्छ । यता ‘३ अर्बभन्दा बढीको रक्तचन्दन अलपत्र’ शीर्षक खबरभित्र वन तथा भू–संरक्षण विभाग एवं सत्ताधारी अर्थतन्त्रको क्षयीकरण हुँदा पनि उदासीन रहेको विषय समेटिएको छ ।

यसरी जिम्मेवार राजनीतिक नेतृत्व हुन् या नेताको पुच्छर लागेर ठूलो पद हडप्न सफल व्यक्ति अथवा प्रशासक नै किन नहुन्, कोही पनि मुलुकको अर्थतन्त्र थिलथिलो पार्न पछि परेको देखिँदैन । विशेषतः प्रत्यक्ष निर्वाचित हुने प्रदेश सांसदले आउँदो आर्थिक वर्षको विनियोजित बजेटबाट ५–५ करोड र समानुपातिकमा छानिएकाले डेढदेखि ३ करोड रुपैयाँ हात पार्न ‘लबिइङ’ गरिरहेको भन्ने खबर दुःखदायी एवं भर्त्सनायोग्य छ ।

विगतका वर्षमा त्यसरी बाँडेको रकमबाट सांसदहरूको आ–आफ्नो निर्वाचन क्षेत्रमा काम भएको विवरण कहीँकतै भेट्न सकिँदैन भने अनुगमन नहुँदा गरेका काम अधुरा, अपूरा र गुणस्तरहीन हुने गरेको कुरा सुन्नमा आउँछ । त्यसमाथि नीति निर्माणमा निपुण नेतृत्वले सरकारका तीन वटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा हात हाल्न खोज्दा यसबाट कसैले दिगो विकासको परिकल्पना गर्न सक्दैन ।

यतिबेला ‘भिजिट भिसा’ प्रकरणमा मुछिएको भन्ने आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकको सन्दर्भले पनि उक्त कुरा प्रतिविम्बित हुँदैन र ? वस्तुतः संघदेखि प्रदेशसम्म लुटपाटको स्थिति सिर्जना हुँदै जानु, भ्रष्टाचार, ठगीको अन्त नहुनु, शृंखलाबद्ध तरिकाले एकपछि अर्को काण्ड मच्चिरहनुजस्ता देशद्रोही क्रियाकलापबाट मुलुकको रूपान्तरण हुन सक्दैन । मुलुकको समृद्धिको सपना नारा र कागजमै सीमित रहनेछ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully