अहिलेसम्मको सिंगो जीवन राजनीतिमा बिताएका, दुई पटकसम्म एउटा शक्तिशाली पार्टीको नेतृत्व गर्दै गरेका अनि चौथो पटक प्रधानमन्त्रीका रूपमा देश हाँकिरहेका केपी शर्मा ओलीको व्यक्तित्व सामान्य नागरिकको जस्तो होइन ।
उनलाई अनुसरण गर्नेहरूले उनको जीवनीबाट केही पाठ सिक्न सक्छन्, उनको राजनीति गर्ने शैलीलाई पछ्याउन सक्छन् । उनको नामका अगाडिपछाडि विभिन्न विशेषण जोडिइसकेका छन् । तर, तिनै ओलीले आफ्नै व्यवहारले ती विशेषणलाई न्याय गरेको पाइँदैन ।
हरेक ठाउँमा प्रस्तुत हुने उनको शैलीले ओलीलाई केटाकेटीपनबाट माथि उठेको पाउन सकिँदैन । संसद्को रोस्ट्रममा उभिएर सम्बोधन गर्ने क्रममा होस् या देशका विभिन्न ठाउँमा पुगेर भाषण गर्ने क्रममा होस्, ओलीमा बालापन नै भेटिन्छ । अरूलाई तल्लोस्तरमा झारेर गाली गर्ने, निम्छरा शब्दको प्रयोगले अरूको अस्तित्व नै छैन जसरी खुइल्याउने, आफूलाई मन नपरेको मान्छेलाई मान्छे नै नदेख्ने ओलीका खास विशेषता हुन् । उनका यस्तै विशेषताले उनलाई एक राजनीतिज्ञ, प्रधानमन्त्री/पूर्वप्रधानमन्त्रीजस्ता विशेषण जोडेर सम्बोधन गर्न पनि नसुहाउने जस्तो अनुभूत हुन्छ । यसैको पछिल्लो उदाहरण हो– केही दिनअघि उनले ‘आगामी जेठ १५ गते काठमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनेर दिएको अभिव्यक्ति ।
जेठ १५ मा राजावादीले राजधानीमा आन्दोलनको घोषणा गरेपछि ओलीले त्यसलाई टक्कर दिनका लागि आफ्ना कार्यकर्तालाई उक्साउने किसिमले यस्तो अभिव्यक्ति दिएको बुझिन्छ । यद्यपि, प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा बसेको व्यक्तिले आफू एउटा दलको नेताको हैसियतमा मात्र भएजसरी यस्ता खालका अभिव्यक्ति दिनु सुहाउने कुरा होइन ।
–सुजन देवकोटा, पालुङटार–४, गोरखा
