भिजिट भिसा प्रकरणमा पक्राउ परेका तीर्थराज भट्टराईको बयानसँगै गृहमन्त्री रमेश लेखक पनि यस प्रकरणमा मुछिएका छन् ।
देशमा रोजगारी नपाएर ऋणपान गरी रोजगारीका लागि विदेश जान बाध्य नागरिकलाई रकम असुलेर मात्रै भिसा दिनु राज्यसत्ताको अक्षम्य अपराध हो । यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनैपर्छ ।
तर गृहमन्त्री रमेश लेखक राजीनामा नदिने बरू अभियोग प्रमाणित भए राजनीतिबाटै संन्यास लिने मनस्थितिमा छन् । यसका अलावा सत्तारूढ कांग्रेस र एमाले गृहमन्त्रीको बचाउमा उत्रिनु आफैंमा हास्यास्पद छ । हावा नचली पात हल्लिँदैन भनेझैं भट्टराईले गृहमन्त्रीको नाम त्यत्तिकै लिने कुरा आउँदैन ।
प्रतिपक्षी माओवादी र रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दै मंगलबार संसद् अवरुद्ध गरे । अबको राजनीतिक निकासका लागि पनि गृहमन्त्रीले राजीनामा दिनु उचित हुन्छ । अभियोग प्रमाणित नभए शिर ठाडो पारेर पुनः सत्तामा फर्किने बाटो छँदाछँदै पदमा टाँसिइरहन खोज्नु गृहमन्त्रीको सत्ताभोगी प्रवृत्ति सिवाय केही होइन ।
- एसपी बडू, कृष्णपुर–६, कञ्चनपुर
