संसद्को कुनै बेलाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक थिए अहिलेका बहालवाला गृहमन्त्री रमेश लेखक । त्यतिबेला उनले प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकका रूपमा संसद्मा प्रस्तुत गर्ने अभिव्यक्ति निकै सान्दर्भिक, वजनदार र यथार्थ लाग्थ्यो ।
कांग्रेसभित्र निःस्वार्थ र स्वच्छछविका केही नेतामध्येमा लेखक पनि पर्छन् । तर यतिबेला उनै गृहमन्त्री लेखकसँग जोडिएर विशेष गरी विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा विदेश पठाउँदा हुने अवैध असुलीको सेटिङ गृहमन्त्रीसम्मै भएको भन्ने विषयमा सार्वजनिक रूपमै प्रश्न उठेको छ ।
लेखक तिनै व्यक्ति हुन्, जो आफू प्रतिपक्षमा रहँदा कुनै मन्त्रीमाथि यस्तै खालका आरोप लाग्दा मन्त्रीमाथि कुनै ठाउँबाट प्रश्न उठ्यो, कुनै आरोपका बारेमा अनुसन्धान सुरुभयो भने त्यो मन्त्रीले राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउनुपर्छ भन्ने गर्थे । उनी बेलाबखत इतिहासमा त्यस्ता कार्यमा सहयोग पुर्याउने मन्त्रीहरूको उदाहरण प्रस्तुत गरेर पनि आरोप लागेका बहालवाला मन्त्रीलाई पदछाड्न प्रेरित गर्दथे । तर आज आफैंमाथि आरोप लागेको छ । अब उनी के गर्छन् त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले भिजिट भिसामा हुने असुली संगठित र संस्थागत रूपमै चलिरहेको देखाएको छ । त्यस्ता खाले सेटिङमा सामान्य कर्मचारीको मात्र नभई बिचौलियाको समेत गृहमन्त्रीको सचिवालयसम्म नै सम्पर्क रहेको भन्ने समाचार प्रकाशित हुँदै आएका छन् ।
यदिअहिले आएको कुरा सत्य हो भने गृहमन्त्रीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा आफैंले कर्मचारी खटाएर अवैध असुली धन्दा गरेको भन्ने ठहर्छ । संसद्माअरूलाई पाठ सिकाउनेले आफैंमाथि त्यस्तो आरोप लाग्दा पदबाट राजीनामा दिइसक्नुपर्ने होइन र ? यदि गृहमन्त्रीबाट राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गरे भने संसद्मा उदाहरण प्रस्तुत गरेका विगतका मन्त्रीहरूको दर्जामा उनी पनि समेटिनेछन् । यसअघिका सहकारीको रकम अपचलन गरेर ठगी गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेजस्तै पदमै आसीन रहिरहे भने उनैले उपदेश दिने गरेका लामिछाने र उनका बीचमा कुनै भिन्नता देखिने छैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा
