दशकौंदेखि हेपिएको कर्णालीलाई कतिन्जेल गिज्याइरहने ?

जेष्ठ ९, २०८२

पाठक पत्र

How long will Karnali, who has been harassed for decades, continue to be teased?

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार पछिल्लो समय मुलुकका सातै प्रदेशमा बेरुजु रकम ह्वात्तै बढेको छ । बेरुजुमा मधेश र कर्णाली प्रदेशले अन्यलाई उछिनेका छन् ।

आर्थिक वर्ष २०७९/८० मा वार्षिक विनियोजित बजेटमध्ये मधेश र कर्णाली प्रदेशमा क्रमशः ३.८७ र २.५९ प्रतिशत बेरुजु रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । बेरुजु रकममध्ये केही असुलउपर, नियमन गर्नुपर्ने र ठूलो हिस्सा भ्रष्टाचारमा सकिने गरेको विषय नेपालका लागि नौलो रहेन ।

मधेश र कर्णाली प्रदेश आर्थिक, सामाजिक, शैक्षिकलगायत सबै क्षेत्रमा कमजोर देखिएका छन् भने मानव विकास सूचकांकमा पनि तल परेका छन् । कर्णालीको विषय उठाउँदा शासकले पञ्चायतकालदेखि सो क्षेत्रलाई टेढो आँखा लगाउँदै आएका र अझैसम्म पनि सरकारले त्यहाँका कतिपय स्थानमा नुन, चामलजस्ता अत्यावश्यक खाद्यवस्तु पुर्‍याउन सकेको छैन । दैनिक उपभोग्य वस्तु अत्यन्त महँगो हुने गरेको, स्थानीय जनताले उत्पादन गरेका कृषि उपजलगायत अन्य सामग्रीको बजारीकरणमा सरकारी निकाय उदासिन रहेको यथार्थबाट हामी कोही पनि अनभिज्ञ छैनौं ।

स्थानीय सरकारले कार्यभार सम्हालेपछि सञ्चालित विकास निर्माण कार्यमा बर्सेनि अनियमितता बढ्नु, सो विषयमा संघ र प्रदेश चिन्तित नदेखिनु थप खेदजनक कुरा हो । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४/७५ मा बेरुजु रकम विनियोजित बजेटको १ प्रतिशतभन्दा कम थियो भने त्यसपछि २०७८/७९ सम्म आइपुग्दा प्रत्येक आर्थिक वर्षमा क्रमशः २.७२, ३.५६, ५.२२, ४.४३ प्रतिशत बेरुजु रहेको छ । सबै कुरामा कमजोर देखिएको प्रदेशभित्र सरकारी बजेटमा अनियमितता बढ्नुले त्यहाँको विकास कार्यमा बाधा पुग्नु स्वाभाविक हो । तैपनि अनुगमन र नियमन कार्यलाई चुस्त दुरुस्त बनाएर रकमको सदुपयोग गर्ने विषयमा सम्बन्धित सरकारी निकायले चासो दिएका छैनन् ।

दशकौंदेखि हेपिएको कर्णालीलाई कतिन्जेल गिज्याइरहने, कहिलेसम्म खिल्ली उडाउने ? त्यसैगरी सम्भावनै सम्भावनाले भरिएको मधेश प्रदेशका जनता एकातिर ठूलाबडाबाट हेपिँदै र किचिँदै आएका छन् भने अर्कोतिर विकास बजेटको बर्सेनि दुरुपयोग भइरहेको छ । सरकारले पछि परेका प्रदेशको विकास बजेट सदुपयोग गर्नेतर्फ ध्यान दिएन भने कर्णाली र मधेश प्रदेशको दुर्दशा यथावत् रहने निश्चित छ ।

- भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक

Link copied successfully