नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक ट्वान्टी–२० विश्वकप छनोटमा स्थान बनाएर इतिहास रचेको छ । थाइल्यान्डको बैंककमा भएको एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ मा यूएईलाई ५ विकेटले पराजित गर्दै यो सुखद उपलब्धि हासिल गरेको हो ।
यो जित खेलको स्कोरबोर्डमा मात्र सीमित छैन, यो नेपाली महिला क्रिकेटरको दशकौं लामो संघर्ष, लगन र आत्मविश्वासको जीवन्त कथा पनि हो । कप्तान इन्दु बर्माको नेतृत्वदायी इनिङ्स, मनीषा उपाध्यायको घातक बलिङ र सम्पूर्ण टोलीको सामूहिक प्रयासले नेपाललाई विश्वमञ्चमा चम्काउने अवसर प्रदान गरेको छ ।
सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपाली महिला टोलीले पहिलो सहभागितामै एसीसी महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएर सम्भावना देखाएको थियो । तर, त्यसपछिका वर्षमा स्रोतसाधनको कमी, अवसरको अभाव र पुरुषप्रधान खेल संस्कृतिका कारण यो क्षेत्र पछाडि पर्यो । यस्तो परिदृश्यमा यूएईजस्तो बलियो टोलीलाई पराजित गर्दै विश्वकप छनोटमा पुग्नु सामान्य उपलब्धि होइन । यो सफलताले नेपाली महिलाको क्षमता र दृढतालाई विश्वसामु प्रस्तुत गरेको छ, जसले लैंगिक समानता र सशक्तीकरणको सन्देशलाई पनि बलियो बनाउँछ ।
यो उपलब्धि नेपाली समाजका लागि पनि प्रेरणादायी छ । खेलकुदलाई अझै पनि पुरुषप्रधान क्षेत्र ठान्ने मानसिकतामाथि यो टोलीले बलियो प्रहार गरेको छ । प्रत्येक चौका, छक्का र विकेटले नेपाली महिलालाई आफ्नो सपना पछ्याउन हौसला प्रदान गर्नेछ । यो जितले युवा पुस्तालाई देखाएको छ कि मिहिनेत र लगनले असम्भवलाई सम्भव बनाउन सकिन्छ ।
यद्यपि, यो केवल एक सुरुआत हो । विश्वकप छनोटमा नेपालले कठिन चुनौतीको सामना गर्नुपर्नेछ । सन् २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकपमा स्थान बनाउन शीर्ष चारमा पर्नु जरुरी छ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान), सरकार र सरोकारवालाले महिला क्रिकेटमा लगानी वृद्धि गर्नुपर्छ । नियमित प्रशिक्षण, अन्तर्राष्ट्रिय म्याचको अवसर र आधुनिक सुविधायुक्त पूर्वाधार अहिलेको टड्कारो आवश्यकता हो । कप्तान इन्दुको ‘महिला क्रिकेटमा अझै लगानी र म्याच खेल्ने वातावरण चाहिन्छ’ भन्ने भनाइलाई सबैले गम्भीरतापूर्वक लिऔं । नेपाली महिला क्रिकेटरले देखाएको यो उत्साहको वातावरणले भावी पुस्तालाई सपना देख्न र साकार पार्न अवश्य पनि प्रेरित गर्नेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
