ऊर्जामन्त्री र प्राधिकरण प्रमुख राजीनामा देऊ !

जेष्ठ ४, २०८२

पाठक पत्र

Resign the Minister of Energy and the head of the Authority!

नेपाल फेरि अघोषित लोडसेडिङको अन्धकारमा फसेको छ । सरकारले ‘लोडसेडिङ छैन’ भन्ने आधिकारिक घोषणा गरिरहँदा देशका साना सहरदेखि राजधानीसम्म दैनिक केही घण्टा बत्ती जानु सामान्य भइसकेको छ ।

उद्योग–व्यवसाय ठप्प छन्, विद्यार्थीको पढाइ प्रभावित छ र सर्वसाधारण नागरिक अन्धकारमा रात काट्न विवश छन् । तर यतिखेर सरकारका जिम्मेवार भने मौन छन् र झन् लाजै नभएजस्तो गरी बचाउको बयान दिइरहेका छन् ।

लोडसेडिङ नेपाली जनताका लागि नौलो पीडा होइन । झन्डै एक दशकअघिसम्म देश दैनिक १२–१४ घण्टा अँध्यारोमा बस्न बाध्य थियो । तर त्यही देशले कुलमान घिसिङको नेतृत्वमा ८ वर्षसम्म लोडसेडिङमुक्त अवस्था भोग्यो । त्यही विद्युत् उत्पादन क्षमता, त्यही संरचना, त्यही चुनौतीबीच पनि जनताले उज्यालो महसुस गरे । के त्यो चमत्कार थियो ? होइन, त्यो व्यवस्थापन र जवाफदेही नेतृत्वको परिणाम थियो ।

आज कुलमानको ठाउँमा हितेन्द्र शाक्य छन् । ऊर्जा मन्त्रालयको जिम्मेवारी दीपक खड्कासँग छ । तर जनताले भने फेरि पुरानै डरावना दिन सम्झिन थालेका छन्– अन्धकार, अनिश्चितता र झूटा आश्वासनहरू । सरकार र प्राधिकरणका प्रवक्ताहरू दिनदिनै नयाँ बहाना फुराउँछन् भारतले बिजुली दिएन, आईपीएल खेल भयो, ट्रान्सफर बिग्रियो, हावाहुरी आयो । तर प्रश्न स्पष्ट छ– के यिनै समस्याहरू हिजो थिएनन् ? यदि थिए भने किन त्यतिबेला समाधान सम्भव भयो ? र यदि थिएनन् भने आज किन छन् ?

हिजोको व्यवस्थापन ‘उपलब्ध स्रोतको भरपूर उपयोग कसरी गर्ने ?’ भन्ने सोचमा केन्द्रित थियो । आजको नेतृत्व भने ‘अभाव कसरी देखाउने ?’ भन्ने कसरतमा व्यस्त देखिन्छ । जब मन्त्री आफैं संसद्मा उभिएर ‘लोडसेडिङ त हुन सक्छ’ भन्छन् अनि एमडी व्यवस्थापनमै चुकेको स्वीकार गर्छन्, त्यो क्षण सरकारले आफ्नै असक्षमता स्विकारेको हुन्छ । यस्तो अवस्थामा सामान्य लोकतन्त्रमा मन्त्री र कार्यकारी प्रमुखले नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिन्छन् ।

तर नेपालमा त्यसको साटो उनीहरू अझै कुर्सीमै टाँसिएर बसेका छन् । न लाज छ, न आत्मआलोचना । यतिखेर प्रश्न लोडसेडिङ मात्र होइन, प्रणालीको गम्भीर संकट हो । सरकारको काम बहाना बनाउनु होइन, समाधान दिनु हो । नेतृत्वको मूल्यांकन नतिजाबाट हुन्छ, भाषण र पोस्टरबाट होइन । यदि ऊर्जामन्त्री खड्का र प्राधिकरण प्रमुख शाक्यमा थोरै पनि नैतिकता बाँकी छ भने उनीहरूले जनतासँग माफी माग्दै पदबाट राजीनामा दिनुपर्छ । अन्यथा इतिहासले उनीहरूलाई अँध्यारो फर्काउनेहरूका रूपमा मात्र सम्झिनेछ । किनभने देशमा अहिले बिजुली छैन, लाज पनि छैन ।

- सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully