शिलालेखबाट बढेको लुम्बिनीको प्रसिद्धि

जेष्ठ २, २०८२

पाठक पत्र

Lumbini's fame grew from inscriptions

यसपालि बुद्धजयन्तीका दिन उँभौली पर्व, अन्तर्राष्ट्रिय नर्स दिवस, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, पूर्णिमा ब्रत, कुर्म जयन्ती, गोरखनाथ जयन्तीसमेत परेकाले बुद्ध पूर्णिमाको महत्त्व बढेको देखिन्छ ।

यद्यपि, सदियौंसम्म गुमनामझै बनेको लुम्बिनी विदेशीको सहयोग, सक्रियताका कारण केही दशकयतादेखि आफ्नो पहिचान बढाउन सफल देखिन्छ ।

‘बुद्ध जन्मस्थल लुम्बिनी सम्राट अशोकले चिनाए, उ थान्तले विश्वमा फैलाए’ शीर्षकको समाचारमा लुम्बिनीको महत्त्व बुझेर चिन्तित बनेका सम्राटले बुद्ध जन्मेको वास्तविक ठाउँ पत्ता लगाएको, शताब्दियौंपछि त्यहाँको दुर्दशा देखेर कुण्ठित बनेका कतिपय विदेशी नागरिक, पदाधिकारी एवं संघसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग जुटेपछि बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा सुधार भई अहिलेको अवस्थामा आएको विषयसँग सम्बन्धित छ ।

इसापूर्व २४९ मा महान् सम्राट अशोक लुम्बिनी भ्रमणमा आएपछि उनले बुद्धको जन्मस्थल पत्ता लगाएका हुन् । त्यतिबेला अफगानिस्तानदेखि नेपालको तराई, पूर्वमा म्यानमारको तल्लो भागसम्म फैलिएको मगध राज्यमा तीर्थयात्रीको रूपमा आएका सम्राटले आफ्नो अनुभव र संस्मरणलाई चिरस्थायी बनाउन ढुंगाको स्तम्भमा अभिलेख कुँदाएर राखेका कारण बुद्धको जन्मस्थलबारेको यथार्थ तस्बिर सार्वजनिक भएको हो । ४० फुट उचाइको अशोक स्तम्भ त्यतिबेला बनाइएको र पछि टुप्पो भाँचिएपछि ३० फुट साढे १० इन्च बाँकी रहेको छ, जसभित्र कोरिएका ५ पंक्तिमा ९० अक्षर रहेका छन् । संक्षेपमा स्तम्भमा सम्राट अशोकले आफू लुम्बिनी पुगेको कुरा कालान्तरसम्म रहिरहने र त्योभन्दा महत्त्वपूर्ण सन्दर्भ ‘यहाँ शाक्यमुनि बुद्धको जन्म भयो’ भन्ने विषय उल्लेख गरेका छन् ।

लुम्बिनीलाई विश्वमा चिनाउन संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको योगदान कसैले भुल्न सक्दैन । सन् १९६७ मा उ थान्त लुम्बिनी आएका र त्यहाँबाट फर्केर राजा महेन्द्रसँग पुरिएर रहेका भग्नावशेषको उत्खनन कार्य तीव्र बनाउन आग्रह गरेपछि पुरातत्व विभागले काम अघि बढाएको थियो । त्यसपछि उ थान्तले संयुक्त राष्ट्रसंघको सहयोगसमेत जुटाएर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्न पुर्‍याएको योगदन अविस्मरणीय बनेको छ ।

- भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

पाठक पत्र

Link copied successfully