यसपालि बुद्धजयन्तीका दिन उँभौली पर्व, अन्तर्राष्ट्रिय नर्स दिवस, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, पूर्णिमा ब्रत, कुर्म जयन्ती, गोरखनाथ जयन्तीसमेत परेकाले बुद्ध पूर्णिमाको महत्त्व बढेको देखिन्छ ।
यद्यपि, सदियौंसम्म गुमनामझै बनेको लुम्बिनी विदेशीको सहयोग, सक्रियताका कारण केही दशकयतादेखि आफ्नो पहिचान बढाउन सफल देखिन्छ ।
‘बुद्ध जन्मस्थल लुम्बिनी सम्राट अशोकले चिनाए, उ थान्तले विश्वमा फैलाए’ शीर्षकको समाचारमा लुम्बिनीको महत्त्व बुझेर चिन्तित बनेका सम्राटले बुद्ध जन्मेको वास्तविक ठाउँ पत्ता लगाएको, शताब्दियौंपछि त्यहाँको दुर्दशा देखेर कुण्ठित बनेका कतिपय विदेशी नागरिक, पदाधिकारी एवं संघसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग जुटेपछि बुद्ध जन्मस्थल लुम्बिनी परिसरमा सुधार भई अहिलेको अवस्थामा आएको विषयसँग सम्बन्धित छ ।
इसापूर्व २४९ मा महान् सम्राट अशोक लुम्बिनी भ्रमणमा आएपछि उनले बुद्धको जन्मस्थल पत्ता लगाएका हुन् । त्यतिबेला अफगानिस्तानदेखि नेपालको तराई, पूर्वमा म्यानमारको तल्लो भागसम्म फैलिएको मगध राज्यमा तीर्थयात्रीको रूपमा आएका सम्राटले आफ्नो अनुभव र संस्मरणलाई चिरस्थायी बनाउन ढुंगाको स्तम्भमा अभिलेख कुँदाएर राखेका कारण बुद्धको जन्मस्थलबारेको यथार्थ तस्बिर सार्वजनिक भएको हो । ४० फुट उचाइको अशोक स्तम्भ त्यतिबेला बनाइएको र पछि टुप्पो भाँचिएपछि ३० फुट साढे १० इन्च बाँकी रहेको छ, जसभित्र कोरिएका ५ पंक्तिमा ९० अक्षर रहेका छन् । संक्षेपमा स्तम्भमा सम्राट अशोकले आफू लुम्बिनी पुगेको कुरा कालान्तरसम्म रहिरहने र त्योभन्दा महत्त्वपूर्ण सन्दर्भ ‘यहाँ शाक्यमुनि बुद्धको जन्म भयो’ भन्ने विषय उल्लेख गरेका छन् ।
लुम्बिनीलाई विश्वमा चिनाउन संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव उ थान्तको योगदान कसैले भुल्न सक्दैन । सन् १९६७ मा उ थान्त लुम्बिनी आएका र त्यहाँबाट फर्केर राजा महेन्द्रसँग पुरिएर रहेका भग्नावशेषको उत्खनन कार्य तीव्र बनाउन आग्रह गरेपछि पुरातत्व विभागले काम अघि बढाएको थियो । त्यसपछि उ थान्तले संयुक्त राष्ट्रसंघको सहयोगसमेत जुटाएर लुम्बिनीलाई विश्व सम्पदा सूचीमा राख्न पुर्याएको योगदन अविस्मरणीय बनेको छ ।
- भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं
