कान्तिपुरमा प्रकाशित ‘उपकुलपतिबिना त्रिवि कतिन्जेल चलाउने ?’ शीर्षकको सम्पादकीय सटीक र सान्दर्भिक लाग्यो । झन्डै दुई वर्ष पहिले खुला प्रतियोगिताबाट चार वर्षका लागि केशरजंग बराल उपकुलपति पदमा नियुक्त भएका थिए, जुन त्रिविको ६० वर्षे इतिहासमा पहिलो घटना थियो ।
उपकुलपति बरालले त्रिविलाई राजनैतिक हस्तक्षेप हुनबाट बचाई सुधारको प्रयत्न गरेकाले त्रिविले साँच्चिकै प्राज्ञिक क्षेत्रमा सकारात्मक कदम चालेको थियो । तर चाकरी नगरेका कारणले कुलपति तथा प्रधानमन्त्रीको असहयोग मात्र नभई ठाडो हस्तक्षेपपछि उनी राजीनामा दिन वाध्य भए । यसरी एमालेका कार्यकर्ता भर्ती गर्न सहज बाटो बनाइदिएपछि कुलपतिले वैशाख लाग्नासाथ रेक्टरलाई निमित्त उपकुलपति बनाएका छन् । त्यसयता रिक्त रहेको उपकुलपतिजस्तो संवेदनशील र महत्त्वपूर्ण पदपूर्ति गर्न कुनै चासो राखिएको छैन । झन्डै पाँच लाख विद्यार्थी अध्ययनरत त्रिभुवन विश्वविद्यालय साढे एक वर्षदेखि उपकुलपतिविहीन छ । त्रिभुवन विश्वविद्यालयलाई व्यक्तिगत लहडमा चलाउन खोज्नु किमार्थ सह्य कुरा होइन । कुलपति एवं प्रधानमन्त्रीले त त्रिविलाई कसरी विद्यार्थीमैत्री बनाउने, कसरी प्राज्ञिक प्रतिष्ठानको असली रूप दिनेतिर सोच्नुपर्ने बेलामा ठाडो हस्तक्षेप गर्न र मनलाग्दी निर्णय गर्न सुहाउँछ र ?
- गंगाराज अर्याल, पाणिनि–८, पाली, अर्घाखाँची
