काठमाडौँ — पार्टीहरू टुट्नु होइन, जुट्नु र जोडिँदै जानु लोकतन्त्रका लागि शुभसंकेत हो । तर दुर्भाग्यवश ! आँगनमा आइपुगेको ऐतिहासिक एकता— जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको सहकार्य एकाएक अवैध पत्रका आधारमा, एक जना सनकी कर्मचारीले थमाएको निर्देशनपछि रेशम चौधरी पुनः जेल चलान हुँदै भाँडिएको छ ।
यो घटनाले थरूहट र मधेशको पीडालाई संस्थागत गर्ने, दबिएका आवाजलाई मूलधारमा ल्याउने संघर्षलाई गम्भीर झट्का दिएको छ । यस्तो संयोग पटक–पटक किन दोहोरिन्छ, जब यी दलहरूबीच सहकार्यको वातावरण बन्न थाल्छ ! अनि किन राज्य संयन्त्रको चासो अचानक रेशम चौधरीमाथि पुनः केन्द्रित हुन्छ ?
पछिल्ला घटनाक्रमले रेशम चौधरी स्वयं पनि ‘कतै राज्यले फेरि फसाउने त होइन ?’ भन्ने गहिरो भयमा परेको आभास हुन्छ । यही भयका कारण एकताको यात्रा फेरि अनिश्चित दिशातर्फ मोडिएको छ । यस्तो अवस्थाले राज्य संयन्त्रभित्रको प्रतिशोधी मनोवृत्तिलाई झल्काउँछ, जुन लोकतन्त्रका लागि अशुभ संकेत हो ।
यदि जनमत र उन्मुक्तिबीचको सम्भावित एकतालाई रोक्न राज्य संयन्त्रबाट समय मिलाएर हस्तक्षेप गरिएको हो भने यो केवल दुई पार्टीबीचको सम्बन्धमा घात होइन, सम्पूर्ण जनआन्दोलनको आत्मामा चोट पुर्याउने दुस्साहस पनि हो । यो विभाजनकारी खेल लोकतान्त्रिक मूल्य र जनभावनाको उपहास हो । यही बेला विवेकशील राजनीतिक शक्ति, नागरिक समाज र स्वतन्त्र सञ्चारमाध्यम मौन बस्न मिल्दैन । किनभने, यो केवल रेशम चौधरीको विषय होइन, यो समावेशी लोकतन्त्रभित्र नागरिकको पहुँच सुरक्षित गर्ने प्रश्न पनि हो ।
अब जनमत र नागरिक उन्मुक्तिका नेताहरूले स्पष्ट निर्णय लिनैपर्छ– डरको ताल्चा लगाएर एकताको ढोका फेरि बन्द गर्ने कि सहकार्यको साहस देखाएर इतिहास बनाउने ? एकता अझै सम्भव छ, यदि यो भय र संशयको जञ्जाललाई चिर्ने आँट गरियो भने । तर ढोका बन्द गर्ने मनोवृत्तिले त्यो सम्भावना गुम्न सक्छ ।
त्यसैले आँगनमै आइपुगेको एकतालाई डरको ताल्चाले बन्द नगर्नूस् । त्यो ढोका खोल्नूस्, जहाँबाट समावेशी राजनीतिका नयाँ किरण भित्रिन सकोस् । किनभने अब ढोका बन्द गर्नुको अर्थ भविष्यका लागि एउटा अवसर बन्द गर्नु पनि हो ।
–सन्तोष सिम्खडा, टोकियो, जापान
