अहिले प्रतिनिधिसभामा विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल भइरहेको छ । जेठ १५ मा संसद्मा बजेट प्रस्तुत हुने कार्यक्रम छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले रणनीतिक महत्त्वका निम्न क्षेत्रमा बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु :
१. चीनसँग रणनीतिक महत्त्वका उत्तरका नाका जोड्ने: २०१७ मा चीनसँग भएको फ्रेमवर्क सम्झौताअन्तर्गत कम्तीमा पनि तीन–चारवटा नियमित सञ्चालन हुने सडक बनाउन सक्ने गरी बजेट विनियोजन होस् । यसले हाम्रै जीवनमा भोगेका तीन–चारवटा नाकाबन्दी भविष्यमा सदाका लागि अन्त्य हुनेछ ।
२. खाद्यान्नमा आत्मनिर्भता: एउटै देशबाट एकै वर्षमा २५१.४६ अर्बभन्दा बढीको खाद्यान्न आयात गर्नुपर्ने र नेपालको कृषि प्रणाली नै रणनीतिक रूपले यसै उद्देश्यका लागि खलबल्याइएको छ । यस परिवेशमा अब नेपालले खाद्यान्नमा आत्मनिर्भर हुने गरी बजेट विनियोजन र व्यवस्थापकीय प्रावधान यो बजेटमा ल्याउन आवश्यक छ । यसका लागि राज्यकोषबाट खाद्यान्न खरिद गर्ने संस्थाहरूले अनिवार्य रूपमा स्वदेशी खाद्यान्न खपत गर्ने र पालिकाहरूले आफ्नो पालिकामा सफल उत्पादन हुने कृषि बाली छानी ती बाली उत्पादनका लागि किसानको समूहमार्फत उत्पादन खरिदको सुनिश्चितता गर्न जरुरी छ । यी संस्थाहरूसँग जी–टू–जी सम्झौता गरी खाद्यान्न उपलब्धता गराउने प्रावधान पनि राखियोस् ।
३. ऊर्जामा आत्मनिर्भरता: नेपाललाई परनिर्भर बनाइराख्ने अर्को रणनीतिक औजार हो– नवीकरणीय ऊर्जा विकासमा अवरोध र पेट्रोलियम पदार्थमा भर पर्नुपर्ने अवस्था । यो अवस्थालाई सदाका लागि अन्त्य नगरेसम्म नेपाल आत्मनिर्भर हुन सक्दैन । नवीकरणीय ऊर्जामा आत्मनिर्भर बनाउन पनि व्यावहारिक रूपमै सम्भव छ । त्यसैले आगामी वर्षको बजेट बनाउँदा ती तीन क्षेत्रमा उपयुक्त बजेट विनियोजन आवश्यक छ ।
–विष्णुराज उप्रेती, काठमाडौं
