विदेशी भूमिमा नेपाली अलपत्र, सरकार किन मौन ?

वैशाख ३०, २०८२

पाठक पत्र

Why is Nepali stranded in foreign land, the government is silent?

साउदी अरबको जुवैलस्थित सैदाल इन्टरनेसनल कम्पनी बन्द भएपछि ४६९ जना नेपाली श्रमिकहरू बिचल्लीमा परेका छन् । महिनौंदेखि तलब नपाएका यी श्रमिकहरू खाना, बसोबास र औषधिसम्मको अभावमा परेका छन् ।

यो अवस्था केवल एउटा कम्पनीको टाट पल्टिने घटना होइन । यो नेपाली श्रमिकको जीवन, सपना र आत्मसम्मानमाथि परेको गहिरो चोट हो । नेपाली श्रमिकहरू केवल आफ्नो परिवारका लागि मात्र होइन, देशको अर्थतन्त्रका लागि पनि गन्तव्य मुलुकमा पसिना बगाइरहेका छन् । तर संकटका बेला उनीहरूको अवस्थाप्रति राज्यको मौनता गम्भीर प्रश्न बनेर उठेको छ ।

यस संकटमा सबैभन्दा पहिले साउदीस्थित नेपाली दूतावासको भूमिका सवालको केन्द्रमा आउँछ । दूतावासको पहिलो जिम्मेवारी भनेको श्रमिकको सुरक्षाको सुनिश्चितता हो । तत्कालै एउटा आपत्कालीन टोली खटाई घटनास्थलमा पुगी वस्तुस्थिति बुझ्ने, श्रमिकलाई राहत सामग्री उपलब्ध गराउने, अस्थायी आश्रयको व्यवस्था मिलाउने र कानुनी प्रक्रिया अघि बढाउने काममा दूतावास सक्रिय देखिनुपर्थ्यो । तर हालसम्मको अवस्था हेर्दा दूतावासको प्रतिक्रिया ढिलो, अस्पष्ट र औपचारिकतामा सीमित देखिन्छ, जसले समस्या समाधानभन्दा झनै गम्भीर बनाएको छ ।

नेपाल सरकार, विशेषतः परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले यो घटनालाई गम्भीरतापूर्वक लिनु जरुरी छ । सरकारले उच्च कूटनीतिक तहमा साउदी सरकारसँग वार्ता गरी नेपाली श्रमिकको बक्यौता तलब दिलाउने पहल गर्नुपर्छ । साथै, वैदेशिक रोजगार बोर्डमार्फत राहत कोष सञ्चालन गरी तत्काल उद्धार प्रक्रिया सुरु गर्नु पनि अत्यावश्यक भएको छ । यस्ता घटनालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न श्रमिकको अभिवृद्धि, पूर्वतयारी तथा आपत्कालीन हस्तक्षेप योजना आवश्यक देखिन्छ ।

यसैबीच गैरआवासीय नेपाली संघ, मानवअधिकारवादी संस्था, श्रमिक संघ तथा नागरिक समाज पनि चुप लागेर बस्न मिल्दैन । उनीहरूले अन्तर्राष्ट्रिय सञ्जालमार्फत आवाज उठाउन, पीडित श्रमिकहरूका लागि राहत संकलन गर्न, कानुनी सहायता उपलब्ध गराउन र सशक्त अभियान चलाउन सक्नेछन् । यो समस्या केवल सरकारी तहको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको साझा जिम्मेवारी हो ।

साउदीको श्रम कानुनअनुसार, यस्ता समस्या समाधानका लागि श्रमिकहरूले ‘लेबर कोर्ट’ मार्फत् सामूहिक मुद्दा दायर गर्न सक्छन् । तर यस्तो कानुनी प्रक्रिया सजिलो छैन । त्यसका लागि भाषा, कागजात, प्रमाण, कानुनी सहायता र प्रतिनिधित्व आवश्यक पर्छ । यस्ता विषयमा नेपाली दूतावासले पहल गरी कानुनी टोली तयार पारेर श्रमिकलाई मार्गदर्शन गर्नुपर्छ ।

यस घटनाले हाम्रो श्रम आप्रवासन प्रणालीको कमजोरी पनि उजागर गरेको छ । श्रमिक पठाउने एजेन्टहरूको नियमन, काम गर्ने कम्पनीहरूको जोखिम मूल्यांकन र गन्तव्य मुलुकमा हुने सम्भावित समस्याहरूको पूर्वानुमान गर्ने संयन्त्र कमजोर रहेको स्पष्ट देखिन्छ । सरकारले यसलाई अवसरका रूपमा लिई सुधारको खाका तयार गर्नुपर्छ ।

अन्त्यमा, वैदेशिक रोजगारी नेपाली अर्थतन्त्रको मेरुदण्ड हो भने ती श्रमिकहरू राष्ट्रका दूत हुन् । उनीहरूको सुरक्षामा चुक्नु भनेको सम्पूर्ण राष्ट्रको नैतिक पतन हो । अब पनि राज्यले आँखा चिम्लिरह्यो भने श्रमिकहरू मात्र होइन, हामी सबैले विश्वास गुमाउनेछौं । हामीले ती श्रमिकलाई केवल ‘रोजगारीका लागि गएका नागरिक’ नभई ‘राष्ट्रका श्रमिक दूत’ का रूपमा हेर्न थाले मात्र राष्ट्रको गरिमा बच्न सक्छ ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully