काठमाडौँ — युद्ध सुरु भएको चौथो दिनमै युद्धविराम गरेर भारत र पाकिस्तानले शान्तिको बाटो रोजेका छन् । यसका लागि दुवै देशलाई धन्यवाद दिनुपर्छ ।
युद्ध सुरु भएको चौथो दिनमै युद्धविराम गरेर भारत र पाकिस्तानले शान्तिको बाटो रोजेका छन् । यसका लागि दुवै देशलाई धन्यवाद दिनुपर्छ । तर त्यसभन्दा बढी धन्यवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिनुपर्छ । किनभने, उनले त्यस किसिमको प्रयास नगरेको भए सायद युद्ध यति चाँडै रोकिने र थामिने स्थितिमा थिएन । ठूलो मानवीय क्षति हुनबाट बचाएकामा राष्ट्रपति ट्रम्पको जति नै प्रशंसा गरे पनि कमै हुन्छ । आउँदो नोबेल शान्ति पुरस्कारका लागि उनी एक हकदार बनेका छन् भन्दा अत्युक्ति नहोला ।
अमेरिकी राष्ट्रपति ट्रम्पका बारेमा अहिले अनेक कोणबाट कुराहरू उठिरहेका छन् । एकथरीले बाइडेनको ठाउँमा ट्रम्प राष्ट्रपति भएको भए रसिया–युक्रेन युद्ध नै हुँदैनथ्यो भन्नेसम्मका दाबीहरू गर्न थालेका छन् ।
भारत–पाकिस्तानबीचको युद्ध रोकिएको भोलिपल्ट ट्रम्पले भनेका छन्, ‘युद्धले विनाश मात्रै निम्त्याउँछ । यसर्थ युद्ध होइन शान्ति कायम गरौं, दुई देशबीच व्यापार गरौं । अमेरिका दुवै देशलाई सघाउन तयार छ ।’ ट्रम्प राष्ट्रपति मात्र होइनन्, एक कुशल व्यापारी पनि हुन् । उनले युद्धको भार र व्यापारको नाफा राम्ररी बुझेका छन् ।
जे होस्, ट्रम्पले विश्वलाई अशान्त हुनबाट जोगाएका छन् । धेरै मानवीय क्षति हुनबाट दुवै मुलुकलाई बचाएका छन् । यसका निम्ति ट्रम्पलाई जति धन्यवाद दिए पनि कमै हुन्छ ।
संसारका केही शक्तिशाली देशसँग मात्र आणविक हतियार रहेको र दक्षिण एसियामा भारत र पाकिस्तानसँग ती हतियार रहेको अवस्था थियो । कथंकदाचित दुई देशको युद्ध उग्र बन्न पुगेको भए र कुनै जर्नेललाई सनक चढेमा न दिल्ली सुरक्षित रहन सक्थ्यो, न त इस्लामावाद नै ।
–गोपाल देवकोटा, कामनपा–७, चाबहिल
