काठमाडौँ — पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो । चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ ।
पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो । चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ । तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एक पटक यो संवेदनशील क्षणको गरिमा मिच्ने काम गरेका छन् ।
शनिबार बालुवाटारमा आयोजित योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ समारोहमा प्रधानमन्त्री ओलीको आसन असामान्य मात्र होइन, आपत्तिजनक थियो । विश्वविद्यालयका कुलपति र रजिस्ट्रारहरू उभिएर विधिपूर्वक शपथ ग्रहण गरिरहँदा प्रधानमन्त्री भने सिंगो शिष्टाचारलाई पाखुरामा हालेर गम्भीर समारोहलाई तमासाजस्तो बनाउँदै आरामले कुर्सीमा बसिरहेका थिए ।
यो दृश्य केवल एउटा ‘फोटो’ थिएन, यो नेपालको नेतृत्वको गहिरो प्रतीकात्मक कमजोरी हो । के भाषिक औपचारिकता नै शिष्टाचार हो ? के ‘तपाईं–हजुर’ भनिएन भनेर मिडियामाथि व्यंग्य गर्दै हिँड्नु नै गरिमा हो ? शिष्टाचारको भाषिक व्याख्या दिने ओली स्वयंले बारम्बार सार्वजनिक कार्यक्रममा अशिष्ट व्यवहार प्रदर्शन गरिरहनु केवल विडम्बना मात्र होइन, लोकतान्त्रिक संस्कृतिमाथिको उपहास पनि हो ।
शपथ लिने क्षणमा उभिनु सानो शैलीगत कुरा होइन, त्यो जिम्मेवारीप्रतिको सम्मान हो । गरिमा हो । नेतृत्वमा नम्रता हो । जनताप्रतिको आत्मिक उत्तरदायित्व हो । प्रधानमन्त्री ओली, तपाईं भाषाको सौन्दर्य र शुद्धताबारे चिन्तित हुनुहुन्छ भने कृपया
आफ्नो व्यवहार पनि त्यसै अनुसार सुदृढ गर्नुहोस् । तपाईंको आसनले देखाएको अशिष्टताले योगमायाको आत्मालाई नै अपमान गरेको छ ।
नेतृत्व केवल भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ । आफूलाई ‘तिमी’ भनिएकामा चिढिने तपाईं, अब आफ्ना आसन, आचरण र आत्मबोधमा पनि ‘शिष्टाचार’लाई आत्मसात् गर्नुस् । यो देश अब शब्दमा होइन, आचरणमा नेतृत्व खोजिरहेको छ । भाषिक नखरा होइन, संवैधानिक सम्मान खोजिरहेको छ ।
सन्तोष सिम्खडा, टोकियो, जापान
