मिडिया युद्ध होइन, शान्तिका संवाहक बनून्

वैशाख २८, २०८२

पाठक पत्र

Media should not be a war, but a mediator of peace

पछिल्ला केही दिनदेखि भारतीय मिडियामा देखिएको युद्धोन्मादी प्रस्तुतिले फेरि एकपटक पत्रकारिताको धर्म के हो भन्ने प्रश्न उठाएको छ । ‘इस्लामाबाद कब्जा गरियो,’ ‘कराँचीको बन्दरगाह ध्वस्त पारियो,’ ‘युद्ध सुरु भइसकेको छ’ जस्ता हेडलाइनले सूचना होइन, सनसनी बेच्ने होड देखाएका छन् ।

यति मात्र होइन, भिडन्तका फुटेजका नाममा भिडियो गेमको क्लिप चलाउनु भनेको दर्शकप्रति सिधा धोका हो ।

यस्ता झूटा खबरले भारत–पाकिस्तानबीचको सम्बन्धमा त असर गर्छन् नै, साथै दक्षिण एसियाको शान्ति र स्थायित्वमा पनि खतरा उत्पन्न गर्छन् । विडम्बना त के भने यस्ता अफवाहमूलक सामग्रीविरुद्ध भारतीय सरकारले समेत फ्याक्ट–चेक गर्नुपरेको छ र रक्षा मन्त्रालयले नै ‘अफवाहबाट होसियार रहन’ सार्वजनिक सन्देश दिनुपरेको छ ।

प्रसिद्ध पत्रकार रवीश कुमारको ‘टीभी नहेर्नुस्’ भन्ने भनाइ केवल आलोचना होइन, चेतावनी हो । जब प्रमुख भनिने मिडिया हाउस नै राष्ट्रवादी उन्माद र युद्धको आह्वान गर्न थाल्छन्, तब त्यो देशको लोकतन्त्र र सामाजिक सद्भाव दुवैका लागि खतराको संकेत हुन्छ ।

यस सन्दर्भमा जिम्मेवार मिडियाको भूमिका झन् महत्त्वपूर्ण बन्छ । संकटका बेलामा मिडियाले तथ्यमा आधारित, स्रोतसहितको रिपोर्टिङमार्फत नागरिकलाई भ्रम होइन, भरोसा दिने काम गर्नुपर्छ । सन्तुलित दृष्टिकोण, बहुपक्षीय टिप्पणी र भिडन्तभन्दा संवादको पक्षपोषण गर्न सक्ने मिडिया मात्र लोकतन्त्रको साँचो पहरेदार बन्न सक्छ । प्रेस स्वतन्त्रता जिम्मेवारीविहीन होइन, बरु नैतिक अनुशासनसहितको शक्ति हो ।

नेपालप्रति पनि यदाकदा भारतीय मिडियाले अतिरञ्जित र अनाधिकारिक टिप्पणी गर्दै आएको इतिहास हामीसँग छ । कहिले नक्सा विवाद, कहिले धार्मिक विषय, त कहिले विदेशी सम्बन्धका सवालमा भारतीय मिडियाबाट झूटा प्रचार गरिएको छ । तर नेपालका मूलधार मिडियाले संयम र तथ्यमा आधारित पत्रकारितालाई नै प्राथमिकता दिँदै आएका छन् । यो संस्कार जोगाउनु नेपाली मिडियाका लागि अहिले झन् आवश्यक भएको छ ।

त्यसैले हाम्रो आग्रह छ– भारतीय मिडिया हाउसहरूले पनि फर्जी समाचारको ‘बिजनेस मोडल’ त्यागून् । मिडिया न त युद्ध चाहन्छ, न रक्तपात ! उसले चाहने भनेको त सूचना, विवेक र संवाद मात्रै हो ।

यदि सञ्चार स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो भने झूटा प्रचार त्यो मेरुदण्ड भाँच्ने हतियार बन्न सक्छ । यस्तो प्रवृत्तिविरुद्ध सचेत रहनु सम्पूर्ण नागरिक, सम्पादक, पत्रकार र सञ्जाल प्रयोगकर्ताको साझा कर्तव्य पनि हो ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully