वैशाख २४ को कान्तिपुर दैनिकमा चर्चित लेखक खगेन्द्र संग्रौलाको ‘पूर्वराजा र राजभक्तका दुःख’ भन्ने लेख पढ्न पाएँ । रमाइलो लाग्यो । ‘खुट्टा कहाँ दुखेको छ भन्ने कुरा जुत्ता लाउनेलाई मात्रै थाहा हुन्छ’ भन्ने नेपाली आहान छ ।
यो सवालमा चाहिँ यिनका खुट्टा दुखाइको थोरै अनुमान अरूले पनि लगाएका होलान् । नेपालको इतिहासमा दाइ राजाका खलक नारायणहिटी दरबारमा कत्लेआम भएपछि भाइ ज्ञानेन्द्रलाई चिट्ठामा आएको राजगद्दी उनले नै जोगाउन सकेनन् । विश्वकै इतिहासमा विरलै घट्ने यस्ता घटनाले राजनीतिलाई कसैले अनुमान नगरेको बाटोमा डोहोर्याउँछ । दरबार काण्डपछि ज्ञानेन्द्र शाहकै घमण्ड र अहंकारले देशले नयाँ दिशा लिएकै हो ।
वामपन्थी दल त स्थापनाकालदेखि नै गणतन्त्रकै लाइनमा छँदै थिए, उनकै कारण स्थापनाकालदेखि संवैधानिक राजतन्त्रका अकण्टक पक्षधर रहेका बीपी कोइरालाका अनुयायीहरूसमेत गणतन्त्रवादको कित्तामा पुगे । ‘आफूलाई हेर्नु, समय र परिवेश हेर्नु’ भन्छन् । उनको छोटो दृष्टिले आफूलाई र पिताराजा महेन्द्रलाई मात्र देख्यो । अहिले यिनी सपनामा पकाएको खीर विपनामा खान पाइएला भनी आशामा छन् । तर यो सम्भव छैन । सांकेतिक राजाको अस्तित्व मात्र जोगाउने र राज्य सञ्चालनमा जनताका प्रतिनिधिको कार्यकारी अधिकार रहने तहको समझदारी उही बेलामा गर्न सकेको भए सायद परिस्थिति फरक हुन्थ्यो कि ? तर अब यो काल्पनिक कुराको कुनै अर्थ बाँकी छैन । किनकि अहिलेसम्म बागमतीमा धेरै पानी बगिसक्यो । नवराज सुवेदी र दुर्गा प्रसाईंहरूले खिया लागिसकेको राजगद्दीमा बसालिदेलान् र जीवनमै बुढेसकालमा तेस्रो पटक श्रीपेच लाउन पाइएला भनेर आशा गर्नु भनेको ‘बूढो गोरु ब्याउला र दूध खाउँला’ भनेर सोच्नुजस्तै हो । ‘दुःख पायौ मंगले आफ्नै ढंगले ।’ अहिलेको सत्यता के हो भने सार्वभौम भइसकेका नेपाली जनताले नयाँ राजा खोजी सिंहासनमा राखेर आफूलाई रैतीमा परिणत गराउने कच्चा खेल खेल्दैनन् ।
- कृष्ण कुम्पुरे, आदमटार, धादिङ
