मृत्युको क्षणमा पनि सिद्धान्तको बाटो हिँडेका नेता

वैशाख २५, २०८२

पाठक पत्र

A leader who walked the path of principles even at the moment of death

जन्मेपछि नमर्ने कोही छैनन् । यो सत्यलाई स्विकार्न नसक्दा मान्छे सधैं दुःखी बनिरहेको छ । नेपालका वामपन्थी नेताहरूमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रदीप नेपालको मंगलबार निधन भएको छ ।

उनले कहिल्यै पद र शक्तिको दुरुपयोग गरेनन् भन्ने लाग्छ । पछिल्लो समय रोगका कारण सक्रिय राजनीतिबाट अलग बसेका थिए । साहित्यिक क्षेत्रमा सञ्जय थापा नामले परिचित नेपालले प्रगतिशील साहित्य र स्वतन्त्र चिन्तनको बिम्ब बनेर इतिहासको अनेक पानामा गहिरो छाप छाड्न सफल भए । निष्ठावान नेताको छवि बनाउन सफल नेपाल कुनै राजनीति विवादमा आएनन् । नेकपा एमालेका नेता, पूर्वमन्त्री, स्थायी समिति सदस्यका रूपमा परिचित भइसकेका भए पनि उनको असली चिनारी भिन्न छ ।

नेपालले आफ्नो पार्थिव शरीरमा पार्टीको झन्डा नओढाउन र श्रद्धाञ्जलीका लागि नराख्न भनेका थिए । आफ्नो जीवनकालमा सधैं पार्टीको झन्डा बोकेका नेपालले मरेपछि भने पार्टीको झन्डा नओढाउन भनेका थिए । राजकीय सम्मानका साथ अन्त्येष्टि गर्नुपर्छ भन्ने मानसिकता बोक्ने हाम्रा नेताहरूलाई उनले राम्रो सन्देश दिएका छन् । उनीबाट नेपालका राजनीतिज्ञहरूले सिक्नुपर्ने बेला आएको छ । सिक्ने वा नसिक्ने उनीहरूको कुरा हो । मृत्युपछि गरिने शवयात्राले सवारी जाम भएर सर्वसाधारणले दुःख खेपेका उनले देखेका थिए । त्यही भएर आफ्नो आदर्शपन देखाएका हुन् । निडर स्वभावका नेपालले कसैलाई रिझाउनकै लागि आफ्नो नैतिकता बेचेनन् । जे सत्य हो, त्यो प्रस्टसँग बोले । जसका कारण जनमानसमा उनको छुट्टै छाप परेको छ । धर्मनिरपेक्षता, संघीयता नेपालको भूगोलका लागि आवश्यक छैन भन्ने गर्थे । नेताहरूको आचरणदेखि समग्र राजनीति संस्कृतिसम्म बिग्रियो भनेर उनी बारम्बार भन्ने गर्थे । उनको फरक मत पार्टीका नेतृत्व वर्गले सुनेन । पछिल्लो समय नेतृत्वले जे भन्यो, त्यही सही भनेर आँखा चिम्लने प्रवृत्ति हावी भएको छ । नेतृत्वका विषयमा फरक मत राख्यो भने पार्टीले कारबाही गर्ने प्रचलन बढ्दा पार्टीभित्र सत्य बोल्न कसैको आँट देखिँदैन । वामपन्थी नेता प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली ।
पुरुषोत्तम घिमिरे, जोरपाटी काठमाडौं

प्रदीप नेपाल पूर्वसञ्चारमन्त्री, कम्युनिस्ट आन्दोलनका सशक्त पात्र र कम विवादित मन्त्रीका रूपमा चिनिएका एक विवेकशील राजनीतिज्ञ । दशकौं लामो सार्वजनिक जीवनमा उनले पदको मोहभन्दा पनि विचार र इमानदारीलाई प्राथमिकता दिए । राजनीति मात्र होइन, साहित्यमा पनि उनको गहिरो लगावले उनलाई फरक चिनारी दिएको थियो । उनका उपन्यास, लेख र समालोचनाहरूले राजनीतिक नेताभन्दा पर पुगेर उनलाई एक संवेदनशील लेखकका रूपमा उभ्याएका छन् ।

उनले मृत्युपछि पार्टीको झन्डा ओढ्न, श्रद्धाञ्जलीसभा राख्न स्पष्ट अस्वीकार जनाउँदै इच्छापत्र लेखेका थिए र त्यो कुनै भावनात्मक आवेग होइन, बरु एमालेभित्र पछिल्लो समय देखिएको विचारहीन विचलनप्रति एक मौन तर गम्भीर विद्रोह थियो । राजनीतिभित्रको अवसरवाद, सत्तामोह र विचारहीन तामझामप्रति उनको यो अन्तिम प्रतिवाद हो ।

जीवनभर मूल्य र निष्ठाका पक्षमा उभिने प्रदीप नेपालले मृत्युको क्षणमा पनि सिद्धान्तको बाटो छाडेनन् । उनको जीवन र इच्छाले हामीलाई सम्झाउँछ, राजनीति केवल पदको यात्रा होइन, त्यो विचार र आत्मसम्मानको यात्रासमेत हो । पार्टीहरू झन्डा ओढाउने होडमा लागिरहँदा प्रदीप नेपालले झन्डा अस्वीकार गरेर एक सशक्त सन्देश छाडेका छन्– सिद्धान्त गुमाउने पार्टीसँग भावनात्मक नाता राख्नु विवेक होइन ।
सन्तोष सिम्खडा, टोकियो जापान

पाठक

Link copied successfully