पार्टीभित्र आन्तरिक लोकतन्त्रको मूल मर्म भनेको बहस, आलोचना र विविध मतप्रतिको सम्मान हो ।
तर नेकपा एमालेजस्तो सैद्धान्तिक रूपमा सबल, जनआन्दोलनबाट परिपक्व भएको पार्टी आज केपी शर्मा ओलीको निरंकुश शैलीको सिकार हुँदै गइरहेको देखिन्छ । यो प्रवृत्तिले केवल पार्टीभित्र विचार राख्ने परम्परालाई समाप्त पार्नेतर्फ होइन, समग्र लोकतान्त्रिक संस्कृतिमाथि नै आघात पुर्याइरहेको छ ।
शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु मात्र एउटा व्यक्तिगत निर्णय थिएन, त्यो नैतिक धरातलबाट लिइएको असहमतिको घोषणापत्र थियो । तर यसको स्वागत गर्नुभन्दा उल्टो, प्रधानमन्त्री ओलीले ‘काम गर्न नसकेर’ राजीनामा दिएको भन्दै व्यंग्य गरे । पार्टीभित्र यस्तो साहसी निर्णयलाई मान्यता दिनुको सट्टा अपमान गर्ने प्रवृत्ति दलीय संस्कारकै अपमान हो ।
त्यसैगरी, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले पार्टीको मुख्यालय निर्माणमा भाटभटेनीका सञ्चालकबाट लिइएको दानको विरोध गरेपछि पार्टीले उनीहरूलाई ६ महिना निलम्बन गर्यो । विचार र सिद्धान्तको पक्षमा उभिनेहरूलाई सजाय दिने प्रवृत्तिले पार्टीभित्र विचारको स्वतन्त्रता खतरामा परेको देखिन्छ ।
भीम रावल, घनश्याम भुसाल, रामकुमारी झाँक्री, वामदेव गौतम यी सबै एमालेभित्रका वैचारिक, राष्ट्रवादी र स्वाभिमानी नेताहरू थिए । तर आलोचनाप्रति असहिष्णु नेतृत्वले यस्ता व्यक्तित्वहरूलाई या त बाहिर धकेल्यो वा मौन हुन बाध्य बनायो । विचारमा अडिग भई बहस गर्ने संस्कार नै ‘गुटबन्दी’ को आरोपमा निषेध गरिने प्रवृत्ति गम्भीर चिन्ताको विषय हो ।
अष्टलक्ष्मी शाक्यजस्ता नेत्रीले खुला रूपमा आलोचना गर्नुपर्छ भन्ने आवाज उठाउँदा त्यसलाई सुन्ने कान नेतृत्वसँग छैन । अहिलेको अवस्थामा एमाले विचारले होइन, बफादारीको मूल्यमा टिकेको छ, जसले चुप लाग्छ, उही टिक्छ ! जसले प्रश्न गर्छ, उही हटाइन्छ । यसरी हेर्दा पार्टीभित्र आलोचनाको संस्कृति मारिँदै छ, बहसको मञ्च भत्किँदै छ र सिद्धान्तभन्दा माथि व्यक्तिको अहंकार उभिँदै छ । कम्युनिस्ट पार्टीको मूल आत्मा भनेकै आलोचना, आत्मालोचना र सामूहिक निर्णय प्रक्रियामा आधारित हुन्छ । तर ओली नेतृत्वमा ती सबै मूल्यहरू कुण्ठित भइरहेका छन् ।
यदि एमालेले आफ्नो ऐतिहासिक विरासत, वैचारिक गाम्भीर्यता र जनउत्तरदायी चरित्र बचाउन चाहन्छ भने नेतृत्वको निरंकुशता र आत्मकेन्द्रित प्रवृत्तिमाथि तत्काल प्रश्न उठाउनुपर्छ । अन्यथा, यो पार्टी केवल व्यक्तिवादी आकांक्षाको साधन मात्र बन्नेछ ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
