केआईआईटीमा नेपालीको मृत्यु संयोग मात्रै हो ?

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Is the death of a Nepali in KIIT just a coincidence?

काठमाडौँ — शिक्षा भनेको भविष्यको सपना हो तर ओडिसाको केआईआईटीमा नेपाली चेलीले भने मृत्युवरण गर्नुपरिरहेको छ ।

शिक्षा भनेको भविष्यको सपना हो तर ओडिसाको केआईआईटीमा नेपाली चेलीले भने मृत्युवरण गर्नुपरिरहेको छ । जहाँ किताब, प्रयोगशाला र कक्षा हुनुपर्ने हो, त्यहाँ आत्महत्या, मौनता र शव पोस्टमार्टमको रिपोर्ट मात्र बाँकी छन् । दुई महिनाको अन्तरालमै दुई नेपाली छात्रा होस्टेलभित्रै मृत भेटिनु केवल दुर्भाग्य होइन, यो संस्थागत बेवास्ता, असंवेदनशीलता र राज्यको कूटनीतिक कमजोरीको घिनलाग्दो प्रतिबिम्ब हो । के हामी अझै पनि चुप बस्ने हो ? के यो विश्वविद्यालय अध्ययनको थलो हो कि नेपाली चेलीहरूका लागि बनाइएको एउटा नियोजित मृत्यु–शिविर ?
पर्साकी १९ वर्षीया प्रिसा साह बीटेक प्रथम वर्षकी छात्रा थिइन् । उनी १११ नम्बर होस्टलको कोठामा मृत फेला परिन् । दुःखको कुरा, यो दोस्रो घटना हो । यसअघि रूपन्देहीकी २० वर्षीया प्रकृति लम्सालले कलेज प्रशासनको बेवास्ता, मानसिक यातना र ब्ल्याकमेलका कारण आत्महत्या गरेकी थिइन् । त्यो पनि विश्वविद्यालय प्रशासनलाई दुई पटक उजुरी दिएको हुँदाहुँदै ।
के यो संस्थाको भूमिकामा संयोग मात्रै देख्न सकिन्छ ? वा प्रणालीगत लापरबाही र अमानवीयता लुकेको छ ? दुई चेलीका निधनपछि पनि विश्वविद्यालय, प्रहरी र दूतावास मौन छन् । केवल ‘अनुसन्धान भइरहेको छ’ भन्ने औपचारिक लाइन दोहोर्‍याइरहेका छन्, जसले मृतकको आत्मालाई न शान्ति दिन सक्छ, न त जीवित विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति । केआईआईटीमा ४० हजार विद्यार्थी छन् । तीमध्ये कम्तीमा १,२०० नेपाली छन् । तर, यहाँको व्यवस्थापनले तिनको सुरक्षा र मानसिक सन्तुलनप्रति कुनै चासो देखाएको पाइँदैन । यसै कारण दुर्व्यवहार, ह्यारेसमेन्ट, उजुरीको बेवास्ता र अन्ततः आत्महत्याजस्ता घटनाहरू दोहोरिएका छन् । यो चेतावनी हो, शिक्षाका नाममा हाम्रो छोरीहरू कहाँ र कसरी जीवन गुमाउन बाध्य छन् भन्ने कुराको । अब शब्द होइन, प्रत्यक्ष कार्यको आवश्यकता छ ।
भारतस्थित नेपाली दूतावासले यो घटनामा उच्च प्राथमिकता दिएर अनुसन्धानमा चासो दिनुपर्छ । नेपाल सरकारले केआईआईटीलाई उच्च जोखिमयुक्त सूचीमा राख्दै एनओसी दिन बन्द गर्नॅपर्छ । पीडितका परिवारलाई न्याय दिलाउन कूटनीतिक तहमा भारतसँग वार्ता थालिनुपर्छ । विदेश जाने विद्यार्थीका लागि चेतनामूलक तालिम, परामर्श तथा गुनासो सुन्ने प्रभावकारी प्रणाली विकास गर्नॅपर्छ ।
नेपाली अभिभावकहरू आफ्ना छोरीहरूलाई शिक्षा दिन विदेश पठाउँछन्, शोकसहित लास ल्याउन होइन । अनि नेपाली चेलीहरू सुरक्षित होऊन् भन्ने चाहना केवल भावुकता होइन, राज्यको संवैधानिक दायित्व हो ।
सन्तोष सिम्खडा, टोकियो, जापान

कान्तिपुर

Link copied successfully