भारतीय नेतासँग अस्वाभाविक भेट

वैशाख २१, २०८२

पाठक पत्र

An unusual meeting with an Indian leader

नेपाली राजनीतिमा एउटा अचम्मको दृश्य दोहोरिरहेछ । भारतको एक जना साधारण दलका नेता आउँछन्, अनि हाम्रा असाधारण नेताहरू लस्करै आफ्ना कोठाका ढोका खोल्दै उनलाई स्वागत गर्छन् ।

प्रसंग हो, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको । उनले कुनै सरकारी हैसियत बोकेका छैनन् । न उनी भारत सरकारका प्रतिनिधि हुन्, न कूटनीतिक मान्यता प्राप्त दूत । तर उनी नेपाल आउँदा सत्ता र विपक्षका अगुवा नेताहरू पालैपालो भेट गर्न आतुर देखिन्छन्— गोप्य कोठामा, चिया नास्ता बोकेर, तस्बिर खिचाएर ।

यो केवल औपचारिकता हो भन्न सकिन्छ । तर प्रश्न उठ्छ– भारतको कुनै पनि पार्टीको एक जना विभागीय नेता यति सहजै काठमाडौं आएर नेपालका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू र विपक्षी नेतासम्मलाई भेट्न सक्छन् भने, के यति सहज पहुँच नेपालका नेताहरूलाई पनि दिल्लीमा प्राप्त हुन्छ ? के नेपाली कांग्रेसको विदेश विभाग प्रमुखले भारतका शक्तिशाली नेताहरूको यति आत्मीय स्वागत पाउँछन् ?

यो एकतर्फी आत्मसमर्पण मात्र हैन, यो नेपालको राजनीतिक स्वतन्त्रताको उपहास हो । हाम्रा नेताहरूको भेटघाटको शैली हेर्दा लाग्छ, चौथाइवाले नीति निर्धारण गर्न आएका हुन्, अनि उनीहरू नीति अनुसरण गर्न । यो दृश्यले नेपाली लोकतन्त्रको आत्मा भत्किएको अनुभूति दिन्छ । नेपालको सत्ता, संरचना र शासनमा दिल्लीको अनुमोदनबिना केही पनि चल्दैन भन्ने सन्देश जनतामाझ छरिएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवा दिल्ली जान्छिन् र फर्केर भन्छिन्, ‘भारत सरकारले परिवर्तन चाहेको छैन ।’ शेरबहादुर देउवा बोल्छन्, ‘भारतले राजसंस्था फिर्ता ल्याउन खोजेको होइन ।’ बाबुराम भट्टराई दिल्ली जान्छन् र फर्केर आउँछन् र भन्छन्, ‘भारत व्यवस्था परिवर्तनको पक्षमा छैन ।’ यी वाक्यहरू केवल सूचनात्मक मात्र होइनन्, जनतालाई मानसिक रूपले दिल्लीको निर्णयप्रति अनुकूल बनाउने राजनीतिक न्यारेटिभ हो ।

जनतालाई यस्तो ‘स्लो पोइजन’ दिइँदै छ जहाँ उनीहरूले आफ्नै मुलुकको नीति, संविधान वा परिवर्तनको अधिकारमा चासो राख्न छाडुन् र भारतको इच्छाअनुसारको दिशा मान्न थालुन् । नेताहरू दिल्लीको बोली दोहोर्‍याइरहँदा, सन्देश स्पष्ट छ नेपालको निर्णयकर्ता भारत हो, हामी केवल कार्यकर्ता । के यही हो जनआन्दोलनले ल्याएको लोकतन्त्र ? के यही हो परराष्ट्र नीति, जहाँ एक साधारण छिमेकी नेताको वरिपरि सत्ता र प्रतिपक्षका सम्पूर्ण केन्द्र झुम्मिने ?

पक्कै पनि अब नेताहरूको स्वाभिमानको जाँच गर्नुपर्छ । चोठा चहार्ने प्रवृत्तिप्रति कठोर आलोचना गर्नुपर्छ । सत्ताको साँचो काठमाडौंमै रहोस्, भारतको सन्देश होइन । नेपालको संविधानले मुलुक चलाओस् भन्ने माग उठाउनु अहिलेको आवश्यकता हो ।

किनकि यदि यो प्रवृत्ति रोकिएन भने, गणतन्त्रको नाममा हामीले स्वतन्त्रता गुमाउनेछौं र भोलिका पुस्ताले आजका नेताहरूलाई गणतन्त्रका सौदागर भनेर लेख्नेछन् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully