केही समय ओलीलाई हाइसन्चो

वैशाख १८, २०८२

पाठक पत्र

For some time Oli was greeted

प्रधानमन्त्रीकै भनाइको मर्मलाई लिएर भन्ने हो भने सरकार अहिल्यै ढल्यो, भरे नै ढल्यो, शेरबहादुर देउवा नेपाल आउनेबित्तिकै ढल्छ, देउवा एयरपोर्टमा आउनासाथ ढल्छ भन्नेहरूका लागि केही समयका लागि भए पनि मुख बुझो लागेको छ ।

शनिबार राति सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो छलफल भएपछि ओलीलाई अब केही समय सरकार ढल्दैन भनेर स्पष्टीकरण दिइरहनु नपर्ने भएको छ । उक्त छलफलमा सरकार ढल्छ भनेर अफवाह फैलाउनेहरूलाई सरकारले काममार्फत नै जवाफ फर्काउने सहमति भएको बुझिएको छ ।

गत असारमा संविधान संशोधनको मुख्य एजेन्डा बनाएर बनेको गठबन्धनले करिब दस महिना त्यसैलाई अगाडि सारेर सत्ताको कुर्सी ओगटेर जनतालाई लर्खराइराख्यो । कांग्रेस–एमालेको गठबन्धन बनेपछि यसलाई असंवैधानिक, अप्राकृतिक गठबन्धन भन्दै आगामी निर्वाचनसम्म सरकारमा नजाने बरु आफूहरूलाई जनताको माझमा पुर्‍याइदिएकामा कांग्रेस–एमालेलाई धन्यवाद दिँदै आएका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सत्ताबाहिरै बसेर ८४ सम्म पर्खन असह्य भएरै होला, सरकारको जग खोतल्न निकै बल गरेका छन् । उनै प्रचण्डको बारम्बारको यो सरकार धेरै दिन टिक्दैन भन्ने भनाइ र कांग्रेस महामन्त्री गगन थापाको सरकारप्रतिको धारणाले पछिल्लो समय सरकारको आयुबारे केपी शर्मा ओलीले प्रस्टीकरण दिँदै हिँड्नुपरेको थियो ।

देउवा थाइल्यान्डको भ्रमणबाट फर्केलगत्तै ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै भन्दै आएका छन्– हिजो अस्तिसम्म देउवा आउनेबित्तिकै सरकार ढल्छ भन्नेहरू गालामा हात लगाएर बस्न थालेका छन् । चाहे कांग्रेस–एमाले गठबन्धनको सरकार होस्, चाहे एमाले–माओवादी गठबन्धनको सरकार होस्, चाहे कांग्रेस–माओवादी गठबन्धनको सरकार होस्, वर्तमान संवैधानिक अवस्था रहँदासम्म एकदलीय सरकार बन्ने सम्भावना निकै कम देखिन्छ र गठबन्धनकै सरकार बनाइरहँदा यसरी नै विभिन्न बहाना बनाएर सरकार गठन गर्ने र सरकार ढाल्ने बिभिन्न बाटाहरूको खोजी भई नै रहने पक्का छ भने सरकारमा बस्नेहरूलाई सरकार जोगाउनका लागि विभिन्न झूटका खेती गर्नु पनि बाध्यता आइपर्ने नै देखिन्छ । यो प्रक्रिया हरेक दलका नेताले अपनाउनै पर्ने पनि पक्का छ । यस्तो अवस्थामा सरकारको नेतृत्वमा बस्नेलाई सरकार टिकाउनमै बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्था आइपर्छ । यस्तो अवस्थामा गठबन्धनको मुख्य दलको नेताले सान्त्वना मात्रै दिए पनि प्रधानमन्त्रीको कुर्सीमा बस्नेलाई आनन्द आउँछ र प्रतिपक्षीलाई मजाले भन्न सक्छन्– सरकार ढाल्न खोज्नेहरू गालामा हात लगाउन थाले । जस्तो– ओलीले अहिले भन्दै आएका छन् । शनिबारको भेटमा देउवाले ओलीलाई पनि सरकार नढल्ने भनी सान्त्वना दिएका छन्, जसले गर्दा ओलीलाई केही समय भए पनि सरकार जोगाउनका लागि कुनै बाटो खोजिरहनु पर्दैन र उनलाई हाइसन्चो हुने देखिन्छ ।

सुजन देवकोटा, पालुङटार–४, गोरखा

पाठक

Link copied successfully