कांग्रेस आदर्श दल बन्ने कि विधान मिच्ने ?

वैशाख १७, २०८२

पाठक पत्र

Will Congress become the ideal party or break the law?

आसन्न १५औं महाधिवेशनमा सभापतिका एक जना उम्मेदवार शेखर कोइरालाले सोमबार एक समारोहमा कांग्रेसका संस्थापन समूहका नेता तथा कार्यकर्ताहरूले आगामी महाधिवेशन विधानले तोकेको समयभित्र गराऔं भनेर कुरा उठाउनै छोडेको आरोप लगाउनुभएको छ ।

उहाँको त्यो आरोप गगन थापा र विश्वप्रकाश शर्मासमेतलाई लक्षित छ । समयमै महाधिवेशन गराऔं भनेर गगन र विश्वले आवाज उठाउन नसक्नु कस्तो दासताको नमुना हो ?

विधानबमोजिम गर्ने हो भने आसन्न महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने हो । इच्छाशक्ति छ भने यो असम्भव पनि छैन । समयभित्रै महाधिवेशन गरेर अरू पार्टीका लागि आदर्श पेस गर्ने सुवर्ण अवसर पनि कांग्रेससँग छ । तर महाधिवेशन सार्ने परिपञ्च देखिँदा अगुवाले नै बाटो बिराएको जस्तो देखिन्छ । विभिन्न कारण र स्वार्थले पार्टी सभापति शेरबहादुर देउवा समयमै महाधिवेशन गर्न अनिच्छुक भए पनि यदि उनीपछिका दुई उपसभापति र दुई महामन्त्रीले सामूहिक अडान लिने हो भने विधानले तोकेकै समयमा महाधिवेशन हुन सम्भव छ ।

समयभित्र अधिवेशन नहुँदा देउवा मात्र अक्षम हुँदैनन्, उनीपछिका पदाधिकारीहरू पनि अक्षम ठहर्नेछन् । देउवाजी पद भनेपछि हुरुक्कै हुने नेता भएको हुँदा महाधिवेशन एक वर्षपछि धकेल्न खोज्छन् नै । यस कुराको कडा विरोध गगन र विश्वले गर्न सक्नुपर्छ । गगनले एक समारोहमा आफू चार वर्षभन्दा एक दिन पनि बढी महामन्त्रीको कुर्सीमा नबस्ने भनेका थिए । त्यो बोलीको मान उनले राख्छन् कि राख्दैनन् ? हेर्न बाँकी छ । तथापि अरू पार्टीका लागि आदर्श देखाउने कि आफैं चोर बाटोमा हिँड्ने ?

अहिले कांग्रेस पार्टीभित्रको वातावरण निकै तातो भइरहेको छ । त्यसलाई तताउने काम गत शुक्रबार देउवा निवासमा भएको सस्थापन समूहको भेलाले गरेको हो । उक्त भेलाका कारण अब इतरपक्ष पनि तात्ने अवस्थामा पुगेको छ । अहिले सतहमा तीन समूह देखिएको छ । संस्थापन समूहको नेतृत्व स्वयं शेरबहादुर देउवाले गरिरहेका छन् । इतरसमूहको नेतृत्वमा शेखर कोइराला र गगन थापाको बेग्लै समूह छ । १४औ महाधिवेशनमा गगन खुलेरै शेखर समूहमा लागेका थिए तर अहिले उनी कुन समूहमा छन् ? भन्ने खुलेको छैन । देउवा समूहमा शेखर र गगन जत्तिको हेभिवेट उम्मेदवार र अनुहार खासै छैनन् । तथापि यदि शेखर गगनबीच सहमति भएन र दुवै जना सभापति पदमै लडेमा संस्थापन समूहको कमजोर उम्मेदवारले पनि बाजी मार्न बेर लाउँदैन । उनीहरू दुई जना मिलेमा संस्थापन पक्षलाई फलामको चिउरा चपाएसरह नै हुनेछ ।

इतरसमूहमा एक जनालाई पार्टी सभापति र अर्कोलाई प्रधानमन्त्री पद भनेर सहमति गर्न सके १५ औ महाधिवेशन इतरसमूहको पक्षमा सहजै जान सक्छ । अन्यथा फेरि पनि संस्थापन समूह नै आउन सक्छ । तर संस्थापन समूहमा पार्टी सभापति पदमा उठ्ने दर्जनौं अनुहार भएको हुँदा सबैलाई मिलाउन कठिन छ । देउवापछिको त्यस्तो सर्वमान्य अनुहार पनि संस्थापन समूहमा छैन । १४औं महाधिवेशनमा देउवालाई त पहिलो चरणसम्म नछोडेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले देउवापछिका अनुहारलाई ताली बजाएर स्वागत गर्लान् भनेर अनुमान गर्नु मूर्खता हुन्छ । त्यसमाथि शंशाक कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलाहरू अब आफ्नै पालि हो भनेर अड्डी कसिरहेका छन् । जति मिलाए पनि संस्थापन समूहभित्रै तीन नयाँ समूह जन्मने सम्भावना छ । तर इतरसमूहमा धेरै अनुहार नहुँदा मिलाउन सहज छ । शेखरले गगनलाई मिलाउन सके राम्रै हुनेछ ।

गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

पाठक पत्र

Link copied successfully