शिक्षकलाई लाठी हानेर नांगिएको सरकार

वैशाख १६, २०८२

पाठक पत्र

The government stripped teachers by throwing sticks

देशमा शिक्षकहरू विद्यालय छाडेर सडकमा उत्रिनु भनेको कुनै साधारण घटना होइन । यिनीहरू भविष्यका कर्णधार तयार पार्ने, राष्ट्र निर्माणका आधारशिला हुन् ।

तर, विडम्बना ! अहिलेका शासकहरूले शिक्षकमाथि लाठी प्रहार गरेर आफ्नै शासन प्रणालीको नांगोपन दुनियाँसामु उजागर गरे ।

पछिल्ला दिनहरूमा शिक्षकहरूले उठाएका माग निजी स्वार्थमा आधारित थिएनन् । विद्यालय व्यवस्थापन समितिको अनियमितताविरुद्धको आवाज होस् या शिक्षा ऐनको अन्यायपूर्ण व्यवस्था खारेजको माग, ती सबै शिक्षाको गुणस्तर, सम्मान र स्थायित्वका पक्षमा थिए । तर सरकारले संवाद र सम्बोधनको बाटो रोज्नुपर्ने बेलामा लाठी र अश्रुग्यासको सहारा लिएको छ । यो कदमले सरकारको चरित्र स्पष्ट पारेको छ ।

शिक्षकमाथि अन्याय हुनु भनेको राष्ट्रकै मेरुदण्ड भाँचिनु हो । शिक्षकहरूलाई अपमानित गर्नु भनेको भविष्यको उज्यालोलाई अँध्यारो बनाउनु हो । तर सरकार आफ्नै अभिमानमा मुग्ध भएर सत्य र न्यायको आवाज सुन्न असमर्थ रह्यो ।

अहिले शिक्षकमाथि भएको दमनले लोकतान्त्रिक मूल्य र मान्यतालाई नै गिज्याएको छ । जनताबाट चुनिएको भनिएको सरकारले आफैं जनताका सेवकमाथि निर्मम बल प्रयोग गर्दै छ । सरकारले बुझ्नुपर्छ– शासकको शक्ति लाठीमा होइन, जनताको विश्वासमा निहित हुन्छ । आज शिक्षकमाथि चलेको लाठी भोलि सरकारमाथि जनआक्रोश बनेर खनिन सक्छ । अहिले पनि समय छ, शिक्षकमाथि भएको अत्याचारका लागि क्षमा माग्नुस्, उनीहरूको जायज माग सम्बोधन गर्नुस् र लोकतन्त्रमा जनताको आवाजको कदर गर्न सिक्नुस् । नत्र, इतिहासमा तपाईंहरूको नाम निरंकुशताको कालो अध्यायका रूपमा लेखिनेछ ।

सरकारका लागि यो घडी अन्तिम चेतावनी हो । जनतालाई, विशेषतः शिक्षकजस्ता राष्ट्र निर्माता वर्गलाई टेकेर टिक्ने सपना देख्न छाड्नुस् । अन्यथा आन्दोलनको उर्लंदो भेलले सिंहदरबारका पर्खालहरू पनि जर्जर पार्न बेर लाग्ने छैन ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully