राजीनामा दिनु र बर्खास्तीमा पर्नु दुई नितान्त अलग विषय हुन् । राजीनामा आफ्नो विवेक र नैतिकताका आधारमा दिने गरिन्छ भने बर्खास्तीमा पर्नु भनेको एक किसिमको अपमान नै भोग्नु हो ।
ऊर्जा राज्यमन्त्री कान्छाराम तामाङले के त्यस्तो ठूलो अपराध गरे कि, उनलाई अपमानित हुने गरी बर्खास्त नै गरियो ? यसको जवाफ प्रधानमन्त्री ओलीले मात्र होइन, सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक कांग्रेस सभापति शेरबहादुर देउवाले दिनुपर्छ । किनकि देउवाको सहमतिबिना ओलीले कांग्रेसको कोटाबाट बनेको मन्त्रीलाई त्यो स्तरको अपमान गर्ने वा दण्ड दिने हैसियत राख्नै सक्दैनन् ।
हुन त प्रधानमन्त्रीले आफ्नो निर्देशनविपरीत जाने मन्त्रीलाई बर्खास्त गर्न नसक्ने होइन । तर, त्यो एकल बहुमतको सरकार भएका बेला मात्र हो । यस्तो गठबन्धन सरकार बनेका बेला सानो निर्णय गर्दा पनि सत्ता सहयात्री दलसँग सहमति लिनैपर्छ । नभए सरकार टिक्न सक्दैन । झन् एमालेभन्दा पनि कांग्रेस ठूलो पार्टी रहेका बेला देउवाको सहमतिबिना ओलीले माखो पनि मार्न सक्दैनन्, मन्त्री हटाउने त परको कुरा हो । यसर्थ कान्छाराम हटाउनमा ओलीलाई देउवाको पूर्ण साथ थियो नै । र, त्यो घटनाहरूले पनि देखिन्छ । किनकि जुन बेला कुलमानलाई हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव गयो, त्यो बेला गृहमन्त्री रमेश लेखकले रोक्न खोज्दा पनि परराष्ट्रमन्त्री तथा देउवा पत्नी आरजुले दबाब दिएर कुलमानलाई हटाइन् ।
कुलमानको पक्षमा निरन्तर वकालत गरिरहेका राज्यमन्त्री कान्छाराम त्यही बेलादेखि देउवा–आरजुको आँखाको कसिंगर बनेका थिए । यसर्थ देउवा–आरजुको सहमतिमै ओलीले कान्छारामलाई पदबाट हटाएका हुन् । यी सबैको उत्तर जनताले २०८४ को चुनावमा ओली, देउवा र आरजुबाट खोज्ने नै छन् ।
कान्छाराम टिके सांसद होइनन् । रामेछापबाट १७ हजारभन्दा बढी मतान्तरले जितेका सांसद हुन् । तर विडम्बना शक्ति र प्रभावको हिसाब भने आरजुमा छ । सरकारले गरेको हरेक खराब काम र निर्णयमा ओलीजत्तिकै दोष देउवाको पनि छ । देउवाको फेरि प्रधानमन्त्री बन्ने स्वार्थका कारण नै ओलीले विवादास्पद निर्णय लिन सकेका हुन् । कांग्रेस ओलीको पुच्छर बन्न बाध्य भएको हो । बिचरा गगन थापा विश्वप्रकाश शर्मालाई देउवा–आरजु रिसाउलान् कि भनेर सत्य कुरा बोल्न पनि गाह्रो भइरहेको छ । तर प्रश्न उठ्छ, यही तालमा कांग्रेसले २०८४ को चुनाव जित्छ ? २०८४ को चुनाव देउवा–आरजुको नाउँमा लडिन्छ कि गगन–विश्वको नाउँमा ? अनि किन गगन–विश्व सत्य कुरा बोल्न डराइरहेका छन् ? कान्छाराम, कुलमान, केशरजंग बराल हटाएको वा हट्न बाध्य बनाइएको ठीक होइन भनेर किन कडा रूपमा बोल्न सकिरहेका छैनन् ?
– गोपाल देवकोटा, चाबहिल, पीपलबोट, कामपा–७
