सोझालाई सुली, बांगोलाई चौतारो कहिलेसम्म सरकार ? विधिको शासन र कानुनराज भनेको यही हो ? प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक मिडियामा बोलेका छन्– म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन दिन्न ।
उहाँले भ्रष्टाचार गर्नु भएन होला । मान्न सकिन्छ । तर, भ्रष्टाचारीलाई कारबाही पनि त गर्न सक्नु भएन । देशको अवस्थाप्रति सचेत कहिले बन्ने प्रधानमन्त्रीज्यू ? पोखरा विमानस्थल बनाउन १० अर्ब भ्रष्टाचार भएको लेखा समितिअन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदनले भनिरहेको छ । ११ जना रहेका उपसमितिमा ३ जनाबाहेक सबैले हस्ताक्षर गरेका छन् । त्यो प्रतिवेदन गलत भए समितिका सदस्यले हस्ताक्षर नै गर्ने थिएनन् होला ।
नेपाल अहिले भ्रष्टाचारीको देश भनेर चिन्न थालिसके । यस्तो हुँदा पनि नेतामा अब सुध्रनुपर्छ भन्ने सोच आउँदैन भने देश कहिले उँभो लाग्ला ? नेताहरूकै कारण विश्वसामु शिर झुक्ने अवस्था आएको छ । यो यथार्थलाई मनन गर्ने कि नगर्ने ? दलको विकल्प छैन । देश चलाउने राजनीतिक दलका नेताले नै हो । तर यिनीहरू कहिलै सुध्रने भएनन् । अब के गर्ने ? सत्ताकै वरिपरि राजनीति घुमेको छ । देश र जनताको अवस्थाप्रति सबै दल बेखबर छन् । सत्तामा छँदा समस्या नदेख्ने, सत्ताबाट बाहिरिएपछि समस्या नै समस्या देख्ने नेताहरूकै कारण देशमा राजनीतिक अस्थिरता भएको छ । कार्यकर्ता पाल्नकै लागि विकास भनेकै बाटो हो भन्ने सरकारको बुझाइ देखियो । तलदेखि माथिसम्म नीतिगत भ्रष्टाचार मौलाएको छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
