अहिले नाम मात्रको लोकतन्त्र छ । पञ्चायतकालभन्दा फरक देखिँदैन । नेताले लोकतन्त्र भनेपछि जनताले मान्नुपर्ने अवस्था सिर्जना भएको छ । मनैदेखि आज लोकतन्त्र दिवस भनेर खुसी हुने दिन कहिले आउला ?
लोकतन्त्रमा जनताको आवाज किन सुनिँदैन ? नेताको आचरण सुध्रनुपर्यो भनेर पटक–पटकभन्दा नेता किन सुध्रँदैनन् ? देशमा लोकतन्त्र आएको २० वर्ष भयो । तर यस अवधिमा जनताले
आफ्नो अधिकार पाए त भन्ने प्रश्न उब्जेको छ । जनताले राजा फालेर नेताको शासन चलाउन लोकतन्त्र ल्याएका होइनन्् । हिजो लोकतन्त्र ल्याउँदा अग्रपंक्तिमा उभिने नागरिक समाज, मानव अधिकारवादी संस्था र स्वतन्त्र नागरिक कता हराए भन्ने प्रश्न उब्जन थालेको छ । नेताहरूको मनोमानी चल्दा पनि नागरिक समाज किन मौन बसेको छ ? जनताले निर्वाचित गरेका जनप्रनितिधिहरू जनताबाट विमुख बन्दै छन्, जनता र नेताको दूरी बढेको छ । जनता विकल्पको खोजीमा छन् । जनताले चाहेर नै देशमा लोकतान्त्रिक गणतन्त्र आएको हो । भोलि जनता रुष्ट हुँदा यो व्यवस्था जान पनि सक्छ । दलहरूलाई घमण्ड छ, हाम्रो विकल्प छैन भन्ने । तर त्यस्तो घमण्ड हिजो राजाले पनि गरेका थिए । त्यसकारण एक पटक देश र जनताका बारेमा सोचौं । राजनीतिमा सधै फोहोरी खेल खेलेर मिडियाबाजी मात्र नगरौं । लोकतन्त्रजस्तो राम्रो व्यवस्था नेताहरूकै कारण बदनाम बन्दै छ । हिजो राजाले केही गर्न दिएन भन्ने दलहरू आज किन सत्ताको वरिपरि घुमिरहेका छन् ? आज यिनै नेताहरूलाई देश विकास गर्न केले रोक्यो ? राम्रो र देशको हित हुने काम जसले गरे पनि हुन्छ । सत्ताकै लागि राजनीति कहिलेसम्म गर्ने ? अब त होस् खुलोस् । जनताको आवाज सुनियोस् । अब आउने वर्षदेखि जनताले मेरो लोकतन्त्र भन्ने वातावरण बनोस् ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं
