ओली नेतृत्वको वर्तमान सरकारले हाल ‘युवा मेला’ नामक कार्यक्रममार्फत हजारौं युवालाई काठमाडौंको सडकमा उतार्ने योजना बनाएको छ । तर, यो योजनाको सार्थकताभन्दा पनि यसको नियतमाथि प्रश्न उठ्न थालेको छ ।
देश आर्थिक संकटमा छ, बेरोजगारीको दर बढ्दो छ, शिक्षाको गुणस्तर कमजोर हुँदै छ, स्वास्थ्य सेवा पहुँच बाहिर जाँदै छ । यस्तो अवस्थामा सरकारको प्राथमिकता के वास्तवमै ‘युवा मेला’ हुनुपर्छ ? गणतन्त्र बलियो सही नीति, नेतृत्व र भिजनले हुन्छ, सडकको तमासा, नाटक र नौटंकीले हैन ।
‘युवा मेला’ भन्ने नामले विकास, सिर्जनशीलता र सम्भावनाको संकेत दिनुपर्ने हो । तर, सत्ताको नतृत्वकर्ता दलले राजधानी केन्द्रित शक्ति प्रदर्शन गर्ने शैलीमा कार्यक्रम सञ्चालन गर्न खोज्नु, लोकतान्त्रिक मर्यादाविपरीत छ । सत्तापक्षले आफ्नै सरकारको प्रशंसा र प्रतिपक्षको आलोचना गर्ने उद्देश्यले युवालाई प्रयोग गर्ने हो भने त्यसले देशको राजनीतिक संस्कृति झनै ओझेलमा पार्नेछ ।
सरकारले युवालाई ‘राष्ट्रिय हित’ का नाममा राजनीतिक नाराबाजीमा लगाउनु अस्वीकार्य छ । आजको युवा जागरुक छ । उसले सिर्जना गर्न चाहन्छ, समस्या समाधानमा भूमिका खेल्न चाहन्छ । उसलाई प्रयोग गर्ने होइन, सशक्त बनाउने खालका नीतिहरू आवश्यक छन् ।
आज विश्व ज्ञान, प्रविधि र उद्यमशीलताको होडमा अघि बढिरहेको छ । युरोप, अमेरिका, जापान, कोरियाजस्ता देशका युवाहरू नवप्रवर्तनमा जुटिरहेका छन्, आफ्ना सरकारहरूसँग नीति निर्माणमा सहकार्य गरिरहेका छन् । तर, नेपालमा भने नेतृत्व आफैं सरकारमा रहेर युवालाई नाराको भीडमा बदल्ने खेलमा रमाइरहेको छ ।
यो देशको प्रमुख समस्या सोचको सतहीपन हो, केवल नाराले देश बन्दैन । शिक्षा सुधार, रोजगारी सिर्जना, प्रविधिमा लगानी, अनुसन्धान र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने योजनाहरू ल्याउनुको साटो सरकारले युवाको ऊर्जा सडकमा खर्चिन लगाउनु दुःखद र आपत्तिजनक कार्य हो ।
प्रधानमन्त्रीले युवासँग संवाद गर्नुपर्ने हो, उनीहरूको समस्या बुझ्नुपर्ने हो । तर, यहाँ युवालाई आफ्ना राजनीतिक उद्देश्य पूर्ति गर्न प्रयोग गर्न खोजिएको छ । यस्तो शैलीले लोकतन्त्रको जरो गहिर्याउँदैन, उल्टो युवामा राज्यप्रतिको विश्वास खस्कन्छ ।
देशमा माफियातन्त्र हाबी हुँदै गएको छ, जनतालाई सस्तो आश्वासन बाँड्ने प्रवृत्तिले मुलुक थलिएको छ । आज आवश्यक छ गम्भीर नीतिगत सुधार, इमानदार नेतृत्व र युवाको सिर्जनात्मक ऊर्जालाई सकारात्मक दिशामा लैजाने रणनीति ।
यसैले, सरकारलाई स्पष्ट रूपमा भन्न चाहिन्छ ‘युवा मेला’को नाममा युवालाई सडकमा उतारेर राजनीतिक तमासा नगर्नुहोस् । जनताको अपेक्षा तमासा होइन, परिणाम हो ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
