मेखराज उदयको जात व्यवस्था बचाउने विवाह प्रणालीबारेको आलेख पढें । भन्नु परेन कि लेखक विवाह संस्था र खास गरेर यसको सजातीय स्वरूपप्रति प्रतिकूल विचार राख्छन् । यस्तै मतभेद डा. भीमराव अम्बेडकर र महात्मा गान्धीमा थियो ।
अम्बेडकर भन्थे– ‘जात व्यवस्थालाई ध्वस्त पार्नुपर्छ ।’ गान्धीको मत फरक थियो । उनी भन्थे– ‘जात व्यवस्थामा कुनै खोट छैन, खोट छुवाछूतमा छ । अतः छुवाछूतलाई ध्वस्त पार्नुपर्छ । जुन सञ्चालकको दोष हो ।’ वैदिक कालको जात व्यवस्थामा न छुवाछूतको अवधारणा थियो, न तलमाथिको भावना थियो । बरु त्यसमा पुस्ता दर पुस्ताको सिकाइले वैज्ञानिकता पैदा गरेको थियो । यदि विवाहले अहिलेसम्म जात व्यवस्थाको संरक्षण गरेको छ भने हामीले त खुसी हुनुपर्छ । विवाह स्वयंले महिलाको गरिमा बढाएको छ । हाम्रो विवाह प्रणालीले महिलालाई कसैले पनि भोग गर्न सक्ने अवस्थाबाट निकालेर सम्मान र अधिकार सुरक्षित गरेको छ । त्यसैले न जात व्यवस्था निकृष्ट छ, न त विवाह प्रणाली नै । यसको विरोध गर्नु भनेको गणतन्त्रको विरोध गरेजस्तै हो । किनभने, गणतन्त्र कुनै मानेमा खराब छैन, खराब छन् त यसका सञ्चालक र हामीले चुनेका नेता ।
– डा.शिवशंकर यादव, छपकैया, वीरगन्ज
