भट्टराईद्वारा नैतिकता प्रदर्शन

वैशाख १०, २०८२

पाठक पत्र

Moral exposition by Bhattarai

समस्या समाधान गर्न नसकेपछि टाँस्सिएर बस्ने होइन, पद छोडेर अरूलाई समाधानको जिम्मा दिनुपर्छ भन्ने उच्चतम नैतिक शिक्षा निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले देखाएकी छन् ।

उनको यो नैतिकताको पाठ अरूलाई भन्दा पनि स्वयं उनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ठूलो चुनौती बनेर खडा भएको छ । किनकि, २१ दिनदेखि चलिरहेको शिक्षक आन्दोलन मत्थर गर्न प्रधानमन्त्री असफल मात्र भएका होइनन्, उल्टै बेतुकका तर्क गरेर शिक्षक आन्दोलनमा नुनचुक लगाउने काम गर्दै आएका छन् ।

अहिले सडकमा शिक्षक मात्र आन्दोलनरत छैनन्, डाक्टरहरू २ महिनादेखि सडकमै छन्, सहकारीपीडितको आन्दोलन, स्थानीय निकायका कर्मचारीको आन्दोलनका साथसाथै राजनीतिक उद्देश्यप्रेरित आन्दोलनहरू पनि सडकमै चलिरहेका छन् । यस्ता कुनै पनि आन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्री असफल भएका छन् । तर पनि उनी पद छोड्ने नैतिकता देखाउन सकिरहेका छैनन् ।

शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने कारण र पृष्ठभूमि धेरै छन् । उनले शिक्षक समस्या समाधानका लागि ७ बुँदे प्रस्ताव गरेको र उक्त प्रस्तावलाई प्रधानमन्त्रीले मन्त्रिपरिषद् लैजान नदिएपछि उनले राजीनामाको बाटो रोजेको पनि बताइएको छ । जेहोस्, शिक्षामन्त्रीले उच्च नैतिकता प्रदर्शन गरेकी छन्, उनको यो निर्णय पछिसम्म पनि अवश्य सम्झिइरहनेछ ।

गोपाल देवकोटा, गोकर्णेश्वर–८, काठमाडौं

पाठक पत्र

Link copied successfully