कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र तथा राष्ट्रिय सभामा सत्तापक्षका नेता कृष्ण सिटौलाले आफ्नै पार्टी संलग्न रहेको वर्तमान सरकारका कामबाट आफू सन्तुष्ट नरहेको बताएका छन् ।
उनले कान्तिपुरसँगको अन्तर्वार्ताका क्रममा यस्तो बताएका हुन् । उनी मात्र होइन, कांग्रेसका महामन्त्रीद्वयले त वर्तमान सरकारका बारेमा उनीभन्दा पनि तिखो आलोचना गरिसकेका छन् । सरकारमै रहेको पार्टीका नेताहरू नै वर्तमान सरकारसँग सन्तुष्ट छैनन् भने आमजनता कसरी सन्तुष्ट होलान् ?
अहिले दिनहुँ सडक तात्न पुगेको छ । यतिखेर दुई ठूला दल मिलेर सरकार चलाएका छन् । तथापि, आमजनतामा आशा बाँड्ने काम उनीहरूले गर्न सकेका छैनन् ।
यस कारण अहिले सडक अशान्त छ, जनता आक्रोशित छन् । १९ दिनदेखिको शिक्षक आन्दोलन, चिकित्सकको आन्दोलन, राजावादीको आन्दोलनलाई सरकारले नजरअन्दाज गरिरहेको छ ।
सरकारको काम जनतामा सेवा डेलिभरी गर्ने हो तर वर्तमान सरकार आफ्नो दायित्व भुली केवल प्रतिशोधको राजनीतिमा रमाएको छ । जनताले मन पराएका र चुनाव जिताएका मान्छेको तेजोबध गर्न, गाली गर्नतिर मात्र सरकारको समय खर्च भइरहेको छ । सरकारको काम अरूलाई गाली मात्र गरिरहने, प्रतिशोधको राजनीति मात्र गरिरहने हो कि आफू पनि सच्चिने हो ?
कहाँ चुक्दै छन् हाम्रा ठूला दल र दलका नेताहरू ? यी प्रश्नको निदान नखोजेसम्म सरकारको विरोध गर्नेको संख्या घट्दैन । सडकको आक्रोश कम हुँदैन । बरु उल्टो बढ्छ । अब पनि गणतन्त्रवादी नेताहरू नसच्चिए, आफ्नो पदलोलुपता र स्वार्थ नत्यागे, जनतामा सेवाहरू सहज ढंगले पुर्याउन नसके उनीहरूका साथै अहिलेको व्यवस्थासमेत भड्खालोमा पर्न सक्छ । अहिले पनि समय छ– सच्चिने र सच्याउने ? पटक–पटक प्रधानमन्त्री बन्दा पनि कुनै ठोस काम र आशा देखाउन नसकेका नेताहरूलाई दोहोर्याइ–तेहर्याइ प्रधानमन्त्री पद किन चाहिएको हो ?
यसपालिको आक्रोश व्यवस्थाको भन्दा पनि दलका शीर्ष नेताको अक्षमता र भ्रष्ट चरित्रमाथिको हो । निश्चय नै राजतन्त्रभन्दा गणतन्त्र असल व्यवस्था हो । नेताहरूले गल्ती गरे चुनावबाट त्यस्ता नेतालाई जनताले फाल्न पाउँछन् तर राजतन्त्रमा राजाले गल्ती गरे कसरी राजा फाल्ने ? सायद यस्तै अवगुणले धेरै देशबाट राजतन्त्र उन्मूलन भएको हो । यसर्थ फेरि नेपालमा राजतन्त्र ल्याउनुपर्छ भन्ने माग उचित छैन । गत चुनावमा राजावादी पार्टी राप्रपाले केवल खसेको मतको ५ प्रतिशत मात्र पायो । तथापि गणतन्त्रवादी नेताहरूले आफ्नो चरित्र सुधार नगरेमा भोलि यो व्यवस्था तिनै नेताका कारण भड्खालोमा पर्न सक्छ । गणतन्त्र बचाउन नेताहरूमा शुद्धीकरण अनिवार्य छ ।
– गोपाल देवकोटा, काठमाडौं महानगरपालिका–७, चाबहिल
