नेता शौचालयमा, जनता आन्दोलनको मोर्चामा

वैशाख ८, २०८२

पाठक पत्र

Leaders in the toilets, people at the front of the movement

राजनीति भनेको नेतृत्व हो– सेवा गर्ने, सुन्ने र समाधान दिने । तर जब नेतृत्व जनताको पीडाको भाषा बिर्सिन्छ अनि सत्ता केवल सुविधा, भ्रष्ट, लाभ र भाषणको प्रदर्शनमा सीमित हुन्छ, तब जनताको धैर्यको बाँध चुँडिन्छ । ताप्लेजुङमा एमालेका नेता योगेश भट्टराईको पछिल्लो घटनाले आज त्यो चुँडिएको बाँधको पहिलो छाल देखाएको छ ।

उनी कुनै जनयुद्धको मोर्चाबाट आएका नेता होइनन् । उनी प्रतिनिधि थिए– लोकतान्त्रिक अभ्यासबाट जन्मिएको नयाँ पुस्ताको, जसबाट मुलुकले हिजोका दिनमा थुप्रै आशा गरेको थियो । तर नीति, निष्ठा र परिणामको राजनीति सही ढंगले नगर्दा आशाको त्यो अनुहार समयसँगै आफैंमा व्यंग्य बन्दै गयो । संसद्मा भाषणले ताली त पाउलान् तर जनता घरमा रित्तो भाँडो हेर्दै बस्न बाध्य भए । उनले बोकेको ‘भविष्य’को पोस्टर च्यातिँदै गयो, उनका अभिव्यक्ति ‘केटाकेटी’को होडमा सीमित हुन थाले । जनता जब बाँच्न संघर्ष गर्छन् अनि नेताको शैली रमाइलो टिप्पणी, सस्तो लोकप्रियता र भाषणको बाढीमा बहन थाल्छ भने त्यो नेतृत्वमा जनताको विश्वास रहँदैन । ताप्लेजुङमा त्यही विश्वासको भाँडो फुटेको हो । जब जनता ‘नो केबलकार’ भन्दै सडकमा उत्रिन्छन्, शान्त आवाज र मागहरू अब आक्रोशको चीत्कार बन्छन् र त्यसै आक्रोशको डरले योगेश भट्टराई शौचालयमा डेढ घण्टा थुनिन बाध्य भए । यो केवल सुरक्षाको विषय होइन, यो एउटा गहिरो राजनीतिक सन्देश हो, जसले अब जनताको चेतना झकझक्याएको छ ।

पक्कै पनि भौतिक आक्रमण कहिल्यै समाधान होइन, तर जनताका पीडा र अपेक्षामाथि बारम्बार उपेक्षा हुँदा, उनीहरूको आस्था धराशायी हुँदा, तब उनीहरूको स्वर सडकमा गुन्जिन पुग्छ, सामाजिक सञ्जाल, वडामा, चोकमा । यो चेतावनी हो नेताहरूका लागि । जनता अब ‘पार्टी’ होइन, ‘परिणाम’ मागिरहेका छन् । उनीहरू अब नेताको गफ होइन, गर्जना खोजिरहेका छन् र त्यो गर्जना आफ्नो अधिकारका लागि हो, आक्रोशको प्रतिक्रिया हो ।

यदि जनताको आवाज अझै सुनिँदैन भने ट्वाइलेटको ढोका अब बन्द हुने छैन, सडकको विद्रोह अब रोक्ने छैन । सत्तामा पुगेका नेताहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय यही हो । जनताको जनजीविका, न्याय, शिक्षा, स्वास्थ्य, गरिबी, रोजगारको विषयमा नीति बनाउन, तिनलाई कार्यान्वयन गर्न, अनि बोलेका हरेक कुरा पूरा गर्नेतर्फ अब उनीहरू प्रतिबद्ध नहुने हो भने त्यो दिन टाढा छैन, जब ट्वाइलेट होइन, पार्टी कार्यालयहरू जनता आफैंले सिल गर्न थाल्नेछन् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully