नेताज्यू मन पोल्दैन ?

वैशाख ८, २०८२

पाठक पत्र

Is the leader not heartbroken?

रोजगारीको खोजीमा हजारौं युवायुवती विदेशिएका छन् । पढेलेखेका युवा युरोप, अमेरिका, क्यानडाजस्ता देशमा गएका छन् भने कम पढेलेखेका खाडी देशमा गएका छन् । हरेक दिन विदेश जानेको लर्को देखिन्छ ।

यस्तो देख्दा पनि सत्तासीनहरूको मन पोल्दैन । अहिलेको अवस्थामा पढाइ गर्न जानेभन्दा रोजगारीमा जाने धेरै छन् । तिनीहरू नै श्रम शोषणमा परेका छन् । यहाँ एउटा काम भनेर त्यहाँ अर्को काम लगाउँछन् । जस्तो काम भए पनि नगरी सुखै छैन । पासपोर्ट कम्पनीले राख्छ । काम गर्न मन नलाग्दा स्वदेश आउनसमेत मिल्दैन ।

यो जत्तिको ज्यादती अरू के होला ? यस्तो हुँदासमेत सरोकारवाला निकाय मौन छ । सायद म्यानपावर कम्पनी नेताकै मान्छेले चलाएको भएर होला– निगरानी कहींकतैबाट छैन । नत्र भने खुलमखुला नेपालीलाई नेपालीले नै किनबेच गर्दा सरकार रमिते हुने थिएन ।

फ्रि भिसा फ्रि टिकट भनेर भन्ने अनि विदेशी कम्पनीबाट पैसा लिएर नेपाली बेच्ने म्यानपावर कम्पनीउपर सरकार किन कडा कदम चाल्न सक्दैन ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिरिनेको लाइन हुन्छ । यो देख्दा नेताको मन पोल्दैन । दैनिक हजारौं युवा अवसरको खोजीमा विदेशिने गरेका छन् । गाउँघरमा खेतीबारी बाँझो छ । यो अवस्था कहिलेसम्म हो सरकार ?

केपी शर्मा ओली पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो । अहिलेसम्म यहाँले जनताका लागि के काम गर्नुभयो भनेर प्रश्न गर्न पाइने कि नपाइने ? प्रधानमन्त्रीका लागि प्रधानमन्त्री बन्ने कि जनताको प्रधानमन्त्री बन्ने ओलीजी भनेर जनताले सोधिरहेका छन् । जनआवाज नेताले सुनेको भए यो अवस्था नै आउने थिएन ।

पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

पाठक पत्र

Link copied successfully