इमान्दार निष्कासन गरेर देश चलाउने नियत

वैशाख ५, २०८२

पाठक पत्र

Intention to run the country by expelling the honest

कुनै मुलुकमा सुधारको प्रयास गर्नेलाई सजाय दिइन्छ भने, त्यो देशको भविष्य कस्तो होला ? नेपालको पछिल्लो अवस्था यही यथार्थको प्रस्ट प्रतिविम्ब हो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले पदबाट राजीनामा दिनु केवल व्यक्तिगत निर्णय होइन, त्यो सिंगो प्रणालीको लाचारी, सडिएको राजनीति र इमानदार पात्रप्रति विद्वेषको एक प्रमाण हो ।

बरालले विश्वविद्यालयलाई चलायमान बनाउन खोजेका थिए । नियुक्तिहरूमा पारदर्शिता ल्याउने, ढिला कार्य सम्पादनलाई नियन्त्रण गर्ने, परीक्षाफल प्रकाशनको समयसीमा निश्चित गर्ने, प्रणाली सुधार गर्नेजस्ता थुप्रै प्रयास गरे । तर यी सुधारले त्यहाँ बसिरहेका सुस्त, दलाल, भागबन्डावादी र सिन्डिकेटधारीलाई असजिलो बनायो । अनि सुरु भयो भित्रभित्रै षड्यन्त्र र जालझेलको तानाबाना अनि ‘बराल हटाऊ’ अभियान । यही त हाम्रो विडम्बना हो । देश सुधार्न खोज्नेहरू अपमानित हुन्छन्, हतोत्साहित हुन्छन् । यो घटनाले हामीलाई फेरि कुलमान घिसिङ सम्झायो । सरकारले शिक्षा, ऊर्जा, स्वास्थ्य, न्यायजस्ता आधारभूत संरचनामा कार्यरत काबिल पात्रलाई हटाएर ‘यदि तपाईं इमानदार हुनुहुन्छ भने सरकारी प्रणाली तपाईंका लागि होइन’ भन्ने सन्देश दिन खोजेजस्तो देखिएको छ । यो ज्यादै गम्भीर कुरा हो ।

यस्ता घटनाले युवाहरूमा निराशा छर्छ । देशमा केही परिवर्तन गर्न सकिन्छ भन्ने भावना हराउँदै जान्छ । बराललाई हेरेर हजारौं युवाले सोच्न थालेका छन्– ‘यदि यस्तो योग्य र निष्ठावान् मान्छेलाई पनि सिध्याइन्छ भने हामी किन यहाँ रोकिने ?’ अनि सुरु हुन्छ रुँदै बिदाइ, विदेशी भूमिमा पसिना बेच्ने तयारी । सरकारले चाहेकै यही छ । किनभने, यसो भयो भने रेमिट्यान्स आउनेछ, युवाहरूले प्रश्न गर्ने छैनन्, विरोध गर्ने छैनन्, परिवर्तनको आवाज उठाउने छैनन् ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक

Link copied successfully