कुनै मुलुकमा सुधारको प्रयास गर्नेलाई सजाय दिइन्छ भने, त्यो देशको भविष्य कस्तो होला ? नेपालको पछिल्लो अवस्था यही यथार्थको प्रस्ट प्रतिविम्ब हो ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले पदबाट राजीनामा दिनु केवल व्यक्तिगत निर्णय होइन, त्यो सिंगो प्रणालीको लाचारी, सडिएको राजनीति र इमानदार पात्रप्रति विद्वेषको एक प्रमाण हो ।
बरालले विश्वविद्यालयलाई चलायमान बनाउन खोजेका थिए । नियुक्तिहरूमा पारदर्शिता ल्याउने, ढिला कार्य सम्पादनलाई नियन्त्रण गर्ने, परीक्षाफल प्रकाशनको समयसीमा निश्चित गर्ने, प्रणाली सुधार गर्नेजस्ता थुप्रै प्रयास गरे । तर यी सुधारले त्यहाँ बसिरहेका सुस्त, दलाल, भागबन्डावादी र सिन्डिकेटधारीलाई असजिलो बनायो । अनि सुरु भयो भित्रभित्रै षड्यन्त्र र जालझेलको तानाबाना अनि ‘बराल हटाऊ’ अभियान । यही त हाम्रो विडम्बना हो । देश सुधार्न खोज्नेहरू अपमानित हुन्छन्, हतोत्साहित हुन्छन् । यो घटनाले हामीलाई फेरि कुलमान घिसिङ सम्झायो । सरकारले शिक्षा, ऊर्जा, स्वास्थ्य, न्यायजस्ता आधारभूत संरचनामा कार्यरत काबिल पात्रलाई हटाएर ‘यदि तपाईं इमानदार हुनुहुन्छ भने सरकारी प्रणाली तपाईंका लागि होइन’ भन्ने सन्देश दिन खोजेजस्तो देखिएको छ । यो ज्यादै गम्भीर कुरा हो ।
यस्ता घटनाले युवाहरूमा निराशा छर्छ । देशमा केही परिवर्तन गर्न सकिन्छ भन्ने भावना हराउँदै जान्छ । बराललाई हेरेर हजारौं युवाले सोच्न थालेका छन्– ‘यदि यस्तो योग्य र निष्ठावान् मान्छेलाई पनि सिध्याइन्छ भने हामी किन यहाँ रोकिने ?’ अनि सुरु हुन्छ रुँदै बिदाइ, विदेशी भूमिमा पसिना बेच्ने तयारी । सरकारले चाहेकै यही छ । किनभने, यसो भयो भने रेमिट्यान्स आउनेछ, युवाहरूले प्रश्न गर्ने छैनन्, विरोध गर्ने छैनन्, परिवर्तनको आवाज उठाउने छैनन् ।
– सन्तोष सिम्खडा, टोकियो, जापान
