सरकार सञ्चालन गर्न गठन गरिएको १० सदस्यीय उच्चस्तरीय संयन्त्रको बुधबारको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र कांग्रेसकै उपसभापति पूर्णबहादुर खड्का सहभागी नभएपछि यतिखेर राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । सरकारको भविष्यलाई लिएर अनेक शंका गर्न थालिएको छ ।
एकातिर माओवादी अध्यक्ष पुष्पकमल दाहालले फालेको जालमा कांग्रेस सभापति शेरबहादुर देउवा लालायित भएको संकेत देखिँदै छ भने अर्कोतिर कांग्रेस महामन्त्रीद्वयको तीव्र विरोधको स्वर झनै चर्को रूपमा उठिरहेको छ । जसले सरकारको भविष्यमाथि नै शंका उपशंका पैदा गरेको हो ।
प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया हाबी भएको भन्ने गगन बुधबार बाराबाट काठमाडौं फर्किए पनि उच्चस्तरीय संयन्त्रको बैठकमा नजानुको अर्थ हो– उनी सरकार सञ्चालनको काम र गतिसँग पटक्कै सहमत छैनन् । उता अर्का प्रभावशाली महामन्त्री विश्वप्रकाश शर्माले त ७ बुँदे असहमति सार्वजनिक नै गरिसकेका छन् । दुवै महामन्त्री र उपसभापति खड्का सरकारसँग मात्र होइन, आफ्नै पार्टीको नेतृत्वसँग पनि रुष्ट छन् भन्ने कुरा विविध घटना र विरोधका स्वरले देखाएका छन् ।
संयन्त्रको बैठकमा गगन नजानुको कारणबारे उनको आफ्नै तर्क छ । संयन्त्रको बैठकमा कार्य–अवधि चार महिना बाँकी रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालन नहटाउने सहमति बन्यो तर सहमतिको भोलिपल्टै मन्त्रिपरिषद्ले उनलाई हटाउने निणर्य गर्यो । गगनको यसप्रति चर्को असन्तुष्टि छ । महामन्त्रीद्वय र उपसभापति वर्तमान सरकारप्रति असन्तुष्ट रहनु र पार्टी सभापति देउवा दाहालको जालमा परिसकेको संकेतले वर्तमान सरकार लामो समय नजाने अड्कलबाजी गर्न सुरु गरिएको छ ।
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं
