केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो, जहाँ प्रहरीको समूहले विदेशमा श्रम गरी स्वदेश फर्किरहेका एक युवकमाथि दुर्व्यवहार गरिरहेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको त्यो दृश्य सायद हामी नेपालीको सामूहिक बेइज्जतीको नमुना पनि थियो ।
वर्षौं दुबईमा पसिना बगाएका मोरङका सञ्जय ओझा ३१ चैतमा काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि उनीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीको लात, धक्का र अपमान उनले सहिरहे । जबर्जस्ती तीन जना प्रहरीले उनीमाथि दुर्व्यवहार गरिरहे । त्यो दुर्व्यवहार केवल एक जना युवकमाथि गरिएको थिएन, रेमिट्यान्स पठाउने लाखौं नेपालीको आत्मसम्मान र अस्मितामाथि पुर्याइएको चोट पनि थियो ।
यो एकल घटना थिएन । प्रहरी संगठनभित्र बढ्दै गएको मानसिक असन्तुलनको अर्को चेतावनी पनि थियो ।
जब प्रहरी थानाभित्र आत्महत्या हुन्छ, तीनकुनेको सडकमा अन्धाधुन्ध गोली वर्षन्छ र झूटो बहानामा जनतालाई अपमान गरिन्छ, त्यो बेला यो बुझ्न गाह्रो पर्दैन कि संगठनभित्र गहिरो स्तरमा चेतनाको संकट उत्पन्न भइसकेको छ ।
हामीले बिर्सनु हुँदैन, यही रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र होइन, प्रहरी संगठनको भातभान्सा पनि चलेको छ । सञ्जय ओझाले पठाएको पैसाले नै कुनै प्रहरी जवानका छोराछोरीको स्कुल फि तिर्ने गरिएको हुन सक्छ । अनि तिनै सञ्जय स्वदेश फर्किंदा लातको ‘स्वागत’ पाउनु यो त केवल व्यक्ति होइन, राष्ट्रकै आत्माको बेइज्जती होइन र ?
देशमा आर्थिक गतिशीलता छैन, रोजगारी छैन । राज्य युवालाई विदेश पठाइरहेको छ अनि विदेशबाट फर्किंदा उसैलाई अपमानित गर्दै छ । जनतामाथि गोली चलाउने, पीडितलाई अपराधी बनाउने र शक्तिको प्रदर्शन गर्ने प्रवृत्तिलाई अब रोक्नु जरुरी छ ।
प्रहरी संगठनलाई बन्दुकभन्दा बढी मानसिक उपचार, नैतिक शिक्षा र जनभावना बुझ्ने संवेदनशील प्रशिक्षण चाहिएको छ । जनता भनेका दुश्मन होइनन्, उनीहरू नै त प्रहरी संगठनका तलब, भत्ता र भातपानीका आधार पनि हुन् भन्ने बुझाउन जरुरी छ ।
अब संगठनभित्रको बिग्रँदो मनोविज्ञानलाई सुधार्न सरकार र प्रहरी नेतृत्वले आँखा खोल्नुपर्छ । ढिला भयो भने विश्वासको त्यो चोखो धागो चुँडिनेछ, त्यसपछि बाँकी रहनेछ केवल डर, अस्थिरता र अनिश्चितता मात्रै ।
देशको मूल थामेका रेमिट्यान्स पठाउने हातमाथि लात हान्नु भनेको आफ्नै आँगनमा आगो लगाउनु हो । त्यो आगो निभाउने जिम्मा अब राज्यको हो ।
— सन्तोष सिम्खडा, टोकियो, जापान
