विदेशमा पसिना बगाएर स्वदेश फर्किंदा किन यस्तो दुर्व्यवहार ?

वैशाख ४, २०८२

पाठक पत्र

Why such misbehavior when returning home after sweating abroad?

केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भयो, जहाँ प्रहरीको समूहले विदेशमा श्रम गरी स्वदेश फर्किरहेका एक युवकमाथि दुर्व्यवहार गरिरहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको त्यो दृश्य सायद हामी नेपालीको सामूहिक बेइज्जतीको नमुना पनि थियो ।

वर्षौं दुबईमा पसिना बगाएका मोरङका सञ्जय ओझा ३१ चैतमा काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि उनीमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीको लात, धक्का र अपमान उनले सहिरहे । जबर्जस्ती तीन जना प्रहरीले उनीमाथि दुर्व्यवहार गरिरहे । त्यो दुर्व्यवहार केवल एक जना युवकमाथि गरिएको थिएन, रेमिट्यान्स पठाउने लाखौं नेपालीको आत्मसम्मान र अस्मितामाथि पुर्‍याइएको चोट पनि थियो ।

यो एकल घटना थिएन । प्रहरी संगठनभित्र बढ्दै गएको मानसिक असन्तुलनको अर्को चेतावनी पनि थियो ।
जब प्रहरी थानाभित्र आत्महत्या हुन्छ, तीनकुनेको सडकमा अन्धाधुन्ध गोली वर्षन्छ र झूटो बहानामा जनतालाई अपमान गरिन्छ, त्यो बेला यो बुझ्न गाह्रो पर्दैन कि संगठनभित्र गहिरो स्तरमा चेतनाको संकट उत्पन्न भइसकेको छ ।
हामीले बिर्सनु हुँदैन, यही रेमिट्यान्सले मात्र देशको अर्थतन्त्र होइन, प्रहरी संगठनको भातभान्सा पनि चलेको छ । सञ्जय ओझाले पठाएको पैसाले नै कुनै प्रहरी जवानका छोराछोरीको स्कुल फि तिर्ने गरिएको हुन सक्छ । अनि तिनै सञ्जय स्वदेश फर्किंदा लातको ‘स्वागत’ पाउनु यो त केवल व्यक्ति होइन, राष्ट्रकै आत्माको बेइज्जती होइन र ?
देशमा आर्थिक गतिशीलता छैन, रोजगारी छैन । राज्य युवालाई विदेश पठाइरहेको छ अनि विदेशबाट फर्किंदा उसैलाई अपमानित गर्दै छ । जनतामाथि गोली चलाउने, पीडितलाई अपराधी बनाउने र शक्तिको प्रदर्शन गर्ने प्रवृत्तिलाई अब रोक्नु जरुरी छ ।

प्रहरी संगठनलाई बन्दुकभन्दा बढी मानसिक उपचार, नैतिक शिक्षा र जनभावना बुझ्ने संवेदनशील प्रशिक्षण चाहिएको छ । जनता भनेका दुश्मन होइनन्, उनीहरू नै त प्रहरी संगठनका तलब, भत्ता र भातपानीका आधार पनि हुन् भन्ने बुझाउन जरुरी छ ।

अब संगठनभित्रको बिग्रँदो मनोविज्ञानलाई सुधार्न सरकार र प्रहरी नेतृत्वले आँखा खोल्नुपर्छ । ढिला भयो भने विश्वासको त्यो चोखो धागो चुँडिनेछ, त्यसपछि बाँकी रहनेछ केवल डर, अस्थिरता र अनिश्चितता मात्रै ।

देशको मूल थामेका रेमिट्यान्स पठाउने हातमाथि लात हान्नु भनेको आफ्नै आँगनमा आगो लगाउनु हो । त्यो आगो निभाउने जिम्मा अब राज्यको हो ।

सन्तोष सिम्खडा, टोकियो, जापान

पाठक पत्र

Link copied successfully