नेपालको राजनीति फेरि अर्को खिचडी पकाउने तयारीमा लागेजस्तो देखिएको छ । तर यसपालि यो खिचडी केवल सत्ताको भान्साबाट होइन, त्यही भान्साका ‘सेफ’ बाटै पकाउन सुरु गरिएको आभास हुन थालेको छ ।
सरकार सञ्चालन संयन्त्रको सदस्यका रूपमा रहेका कांग्रेस महामन्त्री गगन थापा अहिले सरकारमाथि कठोर टिप्पणी गरिरहेका छन् । यो कुनै ‘अपोजिसन भ्वाइस’ होइन, यो सरकारभित्रैबाट उठेको असन्तुष्टिको स्वर हो । उनले बोलेका शब्द सामान्य छैनन्, ती त ‘सत्ता संरचना सडिसकेको’ सन्देश दिने ढंगले आएका छन् ।
‘कांग्रेसबाट सरकारमा गएका मन्त्रीले राम्रो पर्फमेन्स दिन सकेनन्,’ उनले भनेका छन्, ‘बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ ।’
उनको यो भनाइले शासन प्रणालीको दुर्दशालाई मात्रै चित्रण गरेन, गगन स्वयं कुन राजनीतिक मोडमा उभिन लागेका छन् भन्ने संकेत पनि दिएको छ । राजनीतिमा जब सरकारका सदस्यहरू नै सार्वजनिक रूपमा असन्तुष्टि पोख्न थाल्छन्, त्यो वा त निकट संकटको घण्टी हो वा आगामी नयाँ समीकरणको पूर्वाभास ।
तर जति खिचडी पाक्दै छ, त्यसभन्दा पनि गम्भीर कुरा त यो सरकारले जनतालाई निराश मात्रै पारेको साँचो हो । आज जनताको घरमा महँगीले आगो बलिरहेको छ । शिक्षाको पहुँच झनै निजीकरणतर्फ उन्मूख छ । स्वास्थ्य सेवा नाफामूलक व्यवसायमा बदलिएको छ । तर सत्ताको गेटभित्र मन्त्रालयहरू भागबन्डाको नाटक र नियुक्तिहरू दलालीका आधारमा गरिरहेका छन् ।
गगनको ‘बेडरुमसम्मै बिचौलिया’ भन्ने अभिव्यक्तिले स्पष्ट गर्छ– प्रधानमन्त्रीको वरिपरि पनि ‘लोकतान्त्रिक प्रतिबद्धता’ भन्दा ‘घनिष्ठ सञ्जाल’ ले शासन गरिरहेको छ । यो केवल प्रहार होइन, सरकारकै वैधानिकता र नैतिकतामाथिको प्रश्न पनि हो ।
नेताहरू सत्ताको शक्तिमा रमाइरहेका छन् तर जनताको पीडामा अडिएको विश्वास झनै ढलिरहेको छ । देशका युवा विदेशमा पसिना बगाइरहेका छन् । वृद्ध अभिभावक औषधि अभावमा छटपटिरहेका छन् । युवाहरू रोजगारीको आशामा अलपत्र छन् । तर मन्त्रीहरू यो सबै अनदेखा गरिरहेका छन् । रमिता जसरी हेरिरहेका छन् ।
जनताको प्रश्न छ– के गगन थापाको स्वर सच्चा सुधारको प्रयास हो वा नयाँ सत्ता खेलको तयारी ? जेहोस्, जनताले चाहेको नेतृत्व त्यो हो, जो सत्तामा बसेर ‘भित्र सुधार गर्ने’ हो, न कि टाढा बसेर ‘अर्कोलाई दोष दिने’ मात्रै ।
— सन्तोष सिम्खडा, टोकियो, जापान
